आइपिएलको १४औं संस्करण आजबाट शुरु

   २७ चैत्र २०७७, शुक्रबार १२:०७  

२७ चैत, रौतहट । इन्डियन प्रिमियर लिग (आइपिएल)को १४ औं संस्करण आजबाट सुरु हुँदैछ । भारतमै आयोजना गर्न लागिएको आइपिएल कोरोना भाइरस महामारीका बीच विना दर्शक खेलाइनेछ ।

उद्घाटनमा आज साविक विजेता मुम्बइ इन्डियन्स र रोयल च्यालेन्चर्स बैङलोर बीच खेल हुनेछ । चेन्नइमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । महामारीले गर्दा बन्द रंगशालामा हुने खेल जैविक रुपमा सुरक्षित वातावरणमा हुनेछ । पाँच महिनाको अन्तरमा दोस्रो आइपिएल हुँदैछ ।

यसअघिको १३ औं संस्करण गत सेप्टेम्बर नोभेम्बरमा युएइमा गरिएको थियो । अहिले भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । ३० मे सम्म चल्ने आइपिएलका खेल विभिन्न ६ शहरमा न्युट्रल भेन्युमा हुनेछन् ।

लिग चरणमा सहभागी ८ टिमले ६ स्थानका चार स्टेडियममा आफ्नो खेल खेल्नेछन् । प्रतियोगितामा कुल ५६ खेल खेलाइनेछ । चेन्नई, मुम्बइ, कोलकत्ता र बैङलोरमा दश दश खेल हुनेछन् । अहमदाबाद र दिल्लीमा ८–८ खेल हुनेछन् ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बइ र विराट कोहलीको नेतृत्वमा रहेको बैङलोर बीचको खेलसँगै आइपिएलको सुरुवात हुनेछ ।

आइपिएलमा मुम्बइ र बैङलोर सहित कोलकत्ता नाइट राइडर्स, चेन्नइ सुपर किङस, पंजाब किंस, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ ।