आज सुदूरपश्चिम जाँदै प्रधानमन्त्री ओली
१० फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जान लागेका छन् ।
कन्चनपुरको वेदकोट नगरपालिकामा दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओलीसंगै आजको कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्ट, वन तथा भूसंरक्षणमन्त्री प्रेम आले, संघीय मामिला मन्त्री गणेश ठगुन्ना तथा श्रममन्त्री गौरीशंकर चौधरी पनि त्यहाँ जाने भएका छन् ।
गत पुस ५ गते ओलीले गरेको संसद विघटन पछि नेकपा विभाजन भएको थियो । पाटी फुटेपछि ओलीले आफ्नो सक्रियता पनि बढाएका छन् ।
पछिल्लो समय उनी काठमाडौं बाहिरका विभिन्न जिल्लामा दैनिक जसो गइरहेका हुन् । पार्टी विभाजन भएपछि प्रधानमन्त्री ओलीको यो दोस्रो सुदूरपश्चिम भ्रमण रहेको छ ।






