रौतहटमा प्रचण्ड-नेपाल दलको प्रदर्शन, ६ कार्यकर्ता पक्राउ

   २२ माघ २०७७, बिहीबार १५:०१  

 

२२ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-नेपाल पक्षधरहरुले आज रौतहटमा पनि आम हड्ताल गरेका छन् ।

बिहीबार घोषित आम हड्ताल गर्दाै जिल्लाको सदरमुकाम गौरको बि.पि. चौकमा टायर जलाएर सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षधरहरुले अमा हड्ताल सफल बनाउन निस्केका कार्यकर्ताहरुमध्ये ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले हड्ताल बन्द गराउँदै हिडेका सो पक्षका ६ कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रमुख प्रहरी निरिक्षक रामराज केशरीले जानकारी दिए ।

प्रहरीका अनुसार अनुरोध गरेपनि उनीहरुले बेवास्ता गर्दै जवरजस्ती सडकमा टायर बालेको, राजमार्ग अवरुद्ध गर्न खोजेको, पसलहरुलाई जवरजस्ती बन्द गर्न लगाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै पक्राउ गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेका संसद विघटन असंवधानि र अनौपचारिक रहेको भन्दै प्रचण्ड-नेपाल पक्षले विरोद्ध प्रदर्शन गर्दै आएका छन् ।