भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

   १३ माघ २०७७, मंगलवार ११:३४  

१३ माघ, रौतहट । भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई र राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्दलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाउनुभएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गरेका छन् ।

यस्तै, राष्ट्रपति भण्डारीले सन्देशमा भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् ।

त्यसैगरी उनले कोरोना विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।