हत्या गरिएका खेलाडीको परिवारलाई न्याँय कहिले ?

   २३ असार २०७७, मंगलवार ०९:५६  

२३ असार, रौतहट।

९ वर्ष अघि रौतहट सदरमुकाम गौरमा भएको एउटा हत्याकाण्ड, जसको घाँउ अझै आलो छ । न त घटनाका अपराधीले सजाय पाए, न परिवारजनले क्षतिपूर्ति नै । २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडमा कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको गोली हानी हत्या भएको थियो ।
२३ गते बिहिवार राति सवा आठ बजेको समयमा लोडसेडिङ्ग र अध्यारोको मौका छोप्दै अपराधीहरुले प्रहरीलाई चुनौति दिदै बैरागी माथि नाइन एम एमको पेस्तोलले नजिकै बाट गोलि हानेका थिए । पिठयूमा लागेको गोलिले मुटु छेडयो र बैरागीको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । गोलि चलेको घटनास्थालमा गौर अदालत चोकमा त्यसबेला नेपाल प्रहरीको ३ जनाको गस्ती २४ घण्टा रहन्थ्यो तर गोलि हानेर भागेका हत्याराको कुनै सुइको नै पाएनन प्रहरीहरुले ।


सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती तर्फको खेलमा देशलाई काश्य पदक दिलाएका थिए उपेन्द्रदास बैरागी (यादव) ले । देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भण्डारी लगायत विभिन्न व्यक्ति तथा संस्थाले काठमाण्डौंमा उनको सम्मान गरेको थियो । यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखादक्षिणबाहु बाट पनि सम्मानित गरिएको थियो । वैरागीले जितेका ती पदक र प्रशंसापत्रहरु अझै पनि घरमा छन उनको सम्झना बनेर । श्रीमति रामकुमारी देवी र दुई छोराहरु तिनै सम्झनाका कागजहरु हेर्छन, अभिभावक सम्झन्छन अनी फेरि सम्झीन्छ देश र देशको कानूनलाई ।

खेलाडीको हत्या भए पछि विभिन्न सँघ सँस्थाहरुले त्यसबेला हत्यारालाई कारवाहीको माँग गर्दै प्रर्दशन पनि गरेका थिए तर ९ वर्ष सम्म पनि कानूनले अपराधि पक्राउ गर्न सकेन । सशस्त्र द्वन्दकालमा राज्य र माओवादी दुबैको तारो बनेका बैरागीलाइ राज्यपक्षले माओवादीको सुराकी भन्दै २०६० कार्तिक १७ गते पक्राउ गरी २०६२ असार २४ गतेसम्म नजरबन्दमा राखेको थियो । यसैबीच बैरागीका दाजु राजिन्द्रराय यादवको तत्कालीन माओवादीद्वारा हत्या भएको थियो । दाजुको हत्या पछि एक दसक बढि समय देखी असुरक्षाका कारण जनाउदै बैरागी आफ्नो गाउ प्रेमपुर गोनाहि छोडेर सदरमुकाम गौर बस्दै आएका थिए ।

खेलाडी हत्याको आरोपमा गोनाही ४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ परेका थिए तर केही समयपछि रिहा भएका थिए । तत्कालीन प्रहरीले घटनाको राम्ररी अनुसन्धान नगर्दा हत्याराहरु पक्राउ नपरेको परिवारजनको आरोप छ । खेलाडी हत्या भए पछि खेलकुदका विभिन्न सँस्थाहरुले घटनाको छानबिनका लागी माँग गरेका थिए । मृतकलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ती दिने भनिए पनि खेलाडी हत्या भएको ९ वर्ष सम्म पनि पीडित परिवारले केही पाएका छैनन ।
“घरको मूलि नै गुमाए पछि अहिले सम्म बेसहरा भएका छौं । न त श्रीमानको हत्यारा नै पता लगाएर कानूनले कारवाही ग¥यो, सहिद घोषणा र क्षतिपूर्ती समेत पाएको छैन ।” मृतक कुस्ती खेलाडी दासको पत्नी रामकुमारी देवी यादवले भनिन “कुस्तीमा देशको लागी पदक जिते पछि राजा विरेन्द्रले गोरखा दक्षिणबाहु प्रदान गरेका व्यक्तिको हत्या हुदा समेत सरकारले दिने भनेको कुनै सहयोग पाइएन ।” प्रहरीले हत्यारा पक्राउ नगरेकोमा उनलाई दुख छ ।


युवा तथा खेलकुद मन्त्रालयले ९ बैशाख २०७२ मै अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागी नगद १० लाख दिन अर्थ मन्त्रालयको सहमति माग गरे पनि त्यस पश्चात कुनै काम अगाडी बढन सकेको छैन । सहिदको नाममा कतिपयले राज्यको रकम दुरुपयोग गरि रहदा वास्तविक पीडितहरु भने अझै अन्यायमा परेका छन ।