उपमेयर कप महिला राष्ट्रिय करातेमा नागार्जुन नगरपालिका टिम च्याम्पियन
२ पौष, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा भएको उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगितामा काठमाण्डौको नागार्जुन नगरपालिका टिम च्याम्पियन भएको छ । प्रतियोगितामा नागार्जुन नगरपालिका ९ स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ ।
प्रतियोगितामा २ स्वर्ण र ६ कास्य पदक सहित आयोजक चन्द्रपुर नगरपालिका दोस्रो भएको थियो भने २ स्वर्ण सहित गोलबजार नगरपालिका तेस्रो भएको हो । प्रतियोगिताको ,६५ किलो तौल समुहमा नागर्जुन नगरपालिकाकी बिनिता श्रेष्ठ, ५५ किलोमा सुश्मिता वाइवा, ४५ किलो तौल समुहमा शर्मिला श्रेष्ठ, टिम काता तर्फ शर्मिला श्रेष्ठ, राशुगि पाण्डे, सानुमायाले स्वर्ण पदक हात पारेकी थिइन । ५० किलो तौल समहुमा नागार्जुन नगरपालिकाकै सानुमाया थिङले स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको थियो । त्यस्तै आयोजक चन्द्रपुर नगरपालिकाकी किमस लामाले २५ किलो तौल समुहमा र सुजिता घलानले ३० किलो तौल समुहमा स्वर्ण पदक हात पारेकी थिइन ।
त्यस्तै गोलबजार नगरपालिकाकी प्रसिया चौधरीले ४० किलो तौल समुहमा र खुस्वु खड्काले ६० किलो तौल समुहमा स्वर्ण पदक हात पारेकी थिइन । प्रतियोगितामा आयोजक चन्द्रपुर नगरपालिका दोस्रो र गोल बजार नगरपालिका तेस्रो भएका थिए ।
चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा हरेक तौल समुहमा प्रथम हुने खेलाडीलाई नगद ५ हजार दोस्रो हुने खेलाडीलाई नगद तीन हजार र तेस्रो हुने खेलाडीलाई एक हजार नगद पुरस्कार मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो । सो कराते प्रतियोगितामा देशका बिभिन्न १८ वटा नगरपालिका र आयोजक टिमका गरी २२५ जना महिला खेलाडीको सहभागिता रहेको थियो ।
लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना नेपाल सितोरियो करांते संघ रौतहटले गरेको थियो । विजयी खेलाडीलाई चन्द्रपुर नगरपालिकाकी उप प्रमुख राम रति चौधरी, नेपाल सितोरियो करांते संघका अध्यक्ष दावा गुरुङ, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रहासकिय अधिकृत कृष्ण सिग्देल, प्रकाम धौडेवाल, नेपाल फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्की लगाएतले पुरस्कार बितरण गरेका थिए ।
लामो समयको बन्दाबन्दी पछि भएको राष्ट्रिय प्रतियोगितामा खेलाडीको उत्साह पुर्ण सहभागिता रहेको सितोरियो कराते संघ रौतहटका सचिव भिम पहरीले बताए ।