आगामी १० वर्षभित्र १२ नयाँ जहाज ल्याउने निगमको कार्ययोजना
२६ मंसिर, रौतहट । आगामी १० वर्षभित्र १२ वटा नयाँ जहाज खरिद गर्ने कार्ययोजना नेपाल वायुसेवा निगमले व्यवसाय वृद्धिका लागि पारित गरेको छ । निगमका नयाँ महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश)ले १२ वटा नयाँ जहाज ल्याउने १० वर्षे कार्ययोजना ल्याएका हुन् ।
पौडेलले निगमका सबै विभागका प्रतिनिधि रहने गरी बनाएको समितिले १० वर्षे कार्ययोजना बनाएको थियो । सोही कार्ययोजना निगमको सञ्चालक समितिको बैठकले केही दिनअघि पारित गरेको हो ।
निगमको नेतृत्व सम्हालेलगत्तै व्यवस्थापन चुस्त बनाएर निगमलाई नाफामा लैजाने पौडेलले प्रतिबद्धता व्यक्त गरेका थिए । तत्काल जहाज खरिद नगरिए पनि निगमको व्यवसाय बढाउने निर्विकल्प उपाय नयाँ जहाज थप्नु नै रहेको उनको भनाइ थियो ।
पौडेलले बनाएको १० वर्षे कार्ययोजनामा आन्तरिकतर्फ ६ र अन्तर्राष्ट्रिय उडानतर्फ ६ गरी १२ जहाज खरिद गर्ने उल्लेख छ ।