भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि

   २२ असार २०७७, सोमबार ११:२९  

२२ असार, रौतहट ।
नेपाल भारत सिमाक्षेत्रको इशनाथ नगरपालिका १ बन्जरहामा भारतीय पक्षले ३० वर्ष अघि निर्माण गरेको बाँध दशगजा मिचेर निर्माण भएको पुष्टी भएको छ ।


नेपाल भारत दुवै देशको संयुक्त नापी विभागको टोलीले जिपिएस प्रविधिबाट नाँपजाँच गर्दा भारतीय पक्षद्धारा करिव २ मिटर दशगज्जा क्षेत्र मिचेर बाँध बनाइएको प्रमाणित भएको छ । दुवै देशको सर्बे टोलीको उपस्थितिमा सशस्त्र प्रहरी र भारतीय एसएसबी एवं भारतीय प्रशासनिक अधिकृतहरु समेतको सहमतिमा पिल्लर नं. ३४६–५ देखी ३४६–७ सम्मको बिचको मोडमा ११ स्थानमा फलामे पाईप ३ फिट गहिरो कंक्रिट ढलान सहित मध्य बिन्दु तोकिएको छ । यसरी तोकिएको सिमाको मध्य बिन्दु बाँधको उत्तरी फेदमा परे पछि निर्माणका समयमानै भारतीय पक्षले सिमा मिचेको प्रष्ट भएको हो ।
नापी विभागले तोकेको मध्य बिन्दुबाट ९.१ मिटर उत्तर र दक्षिण तर्फ ‘नो–म्यान्स ल्याण्ड’ अर्थात दशगजा भनिन्छ जहाँ दुबै पक्षले कुनै पनि स्थायी तथा अस्थायी भौतिक संरचना निर्माण गर्न पाईदैन । ३४६–६ नम्बर पिल्लरबाट पश्चिमतर्फको बाँध १ मिटर देखी ५ मिटर सम्म दशगजा भित्र पर्ने प्रष्ट देखिएको हो । दशगजमा परेको बाँधका केही भागहरुलाई दुवै देशका सुरक्षाकर्मीहरुको समन्वयमा डोजर लगाएर बोराहरु हटाउने काम समेत भएको छ । विवादित रहेको पिलर नम्वर ३४६–५ देखि ३४६–७ को विचमा ३ वटा अस्थायी पिलर र ३४६–६ देखि ३४६–७ सम्म करिव २०० मिटर सम्म दशगजा क्षेत्रलाई मिचेर बनाएको बाँधको पूर्णभाग वर्षा र बाढी पूर्व नै यथाशिघ्र हटाउनु आवश्यक छ ।


भारतीय टोलीका अनुराग कुमार र नेपालीका टोलीको उमेश कुमार सहितको प्राविधिक टोलीले जिपिएस प्रविधिबाट नक्साको पहिचान गरेर सिमा क्षेत्रको ११ स्थानमा अस्थायी रुपमा पिलर गाडीएको हो । सँयुक्त टोली संग सशस्त्र प्रहरीको विओपी औरैयाका निरिक्षक हरी प्रसाद केसी, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सुरेश प्रसाद गुप्ता र भारत मोतिहारी ढाकाको एसडिएम ज्ञानप्रकार, एएसडिएम संजय कुमारको सँयुक्त टोलीले नापजाँच गरिएर जिआई पाइप गाडेर रेखाँक्न गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
भारतीय पक्षले वर्षौ देखी बाँधमा निर्माण तथा स्तरोन्नतीको काम गर्दा समेत प्रशासनले त्यसबेला पहल नगरेको कारण वर्षेनी बाढीको दुख खेप्नु परेको इशनाथ नगरपालिका १ का वडा अध्यक्ष विगु साह बनियाले बताए । “दुई किलोमिटर भन्दा लामो, १५ फिट भन्दा अग्लो अनि फेदमा १० मिटर भन्दा बढी चौडाइ भएको बाँध आखिर भारतले दशगजामै निर्माण गरेको पुष्टी भयो ।” वडा अध्यक्ष साहले भने “अहिलेको स्थानिय प्रशासन तथा सशस्त्र प्रहरी बलको प्रयासले हाम्रो सिमाना कुन स्थान सम्म हो भन्ने प्रष्ट भएको छ ।” नापी विभागले मध्य बिन्दु भनेर रेखाङ्कन गरेको स्थानबाट दशगजा क्षेत्र प्रष्ट भए पछि दुवै देशका बासिन्दालाई सहज हुने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले काउण्टर पार्टस संगको सहकार्यमा बन्जरहा देखि दक्षिण दशगजामा एकतर्फी रुपमा भरतीय सरकारद्धारा निर्माण गरिएको बाँधको दुवै देशका सर्वेयर टोलीद्धारा सिमा छुट्याइएको बताए । “बाँध अतिक्रमण हटाउन भारतीय पक्षले हामी सँग सहमति गरेका छन ।” प्रमुख जिल्ला अधिकारी घिमिरेले भने “यथासक्य चाडो हटाउने भनेर भनेका छन तर उनीहरुको तर्फ बाट ढिला सुस्ती भयो वा आनाकानी भयो भने हामी आफैले पनि हटाउछौं ।” भारतीय पक्षको नेतृत्व गरेका ढाकाको एसडिएम ज्ञानप्रकाशले दशगजाको दयाँबाँया ९ मिटर भित्रमा पर्ने बाँधलाई तुरुन्तै हटाउने कुरा स्वीकार गरेको भएपनि समय सिमा नतोकेको घिमिरेले बताए ।