नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्बको ट्रेजरी बिल जारी गर्दै

   २२ मंसिर २०७७, सोमबार ११:५५  

२२ मंसिर, रौतहट । नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने स्रोत (आन्तरिक ऋण मार्फत) जुटाउन केन्द्रीय बैंकले अनलाईन बिडिङ्ग मार्फत सोमबार दिउँसो २ बजे सो रकम बराबरको बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको र ९१ दिन अवधिको १२ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो।

सोमबार बोलकबोल प्रकृयाबाट बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल मंगलबार जारी हुनेछ । मंगलबार जारी हुने २८ दिन अवधिको ट्रेजरी बिल २०७७ पुस २१ गते र ९१ दिन अवधिको २०७७ फागुन २५ गते परिपक्व हुनेछ ।

बोलकबोल मार्फत खरी गर्न सकिने ट्रेजरी बिलको लागि बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारणहरुले समेत आवेदन गर्न सक्नेछन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गर्नु परेकाले थप पूँजी आवश्यक भएकाले पुरानो ऋणपत्रको सावाँ भुक्तानी नगरी नवीकरण गर्न लागेको हो । सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो तथा लामो अवधिको सरकारी ऋणपत्र जारी गरिदिन्छ।

सरकारी ढुकुटीमा राजश्व कम उठ्ने तथा कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले स्वस्थ्य संकटसँग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयमा सरकारले अन्तरिक ऋण उठाउन जोडबल गरिरहेको छ ।

सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि मंसिर १५ गते केन्द्रीय बैंक निष्काशन गरेको ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल्सको औसत व्याजदर ०.३४९९ प्रतिशत कायम भएको थियो । जसमा अधिकतम ०.३९०० र न्यूनतम ०.२९९८ प्रतिशतको आवेदन परेको राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल्समा २० अर्ब ७६ करोड अर्थात ६.६३३३ गुणा बढी माग भएको थियो।