एसईई नतिजा मंगलबार सार्वजनिक हुने
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्राविधिक प्रक्रिया सहज रूपमा सम्पन्न भएमा नतिजा मंगलबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण काम लगभग सम्पन्न भइसकेको छ। प्राविधिक परीक्षण र अन्तिम प्रमाणीकरणको कार्य पूरा हुनेबित्तिकै नतिजा सार्वजनिक गरिने उनले बताइन्।
यस वर्षको एसईई परीक्षामा देश तथा विदेशका गरी ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ विद्यार्थीले परीक्षा दिएका छन्।
परीक्षार्थीमध्ये छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। कुल सहभागीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा अन्य सात जना रहेका छन्।
यसपटक जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले एसईई दिएका थिए। देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
यस वर्ष उत्तरपुस्तिका परीक्षणमा नयाँ व्यवस्था लागू गरिएको थियो। विद्यार्थीले जुन परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए, सोही केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।






