मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ

   २० चैत्र २०८२, शुक्रबार १५:०७  

पुष्पराज यादव

२० चैत, रौतहट । रौतहटको गौरमा रहेको भूमि सुधार तथा मालपोत कार्यालय रौतहटबाट प्रहरीले ४ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी विभाग तथा प्रशासन शाखाले कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गर्न तथा अनधिकृत व्यक्तिहरुलाई सरकारी अभिलेख कागजातमा पहुच नदिन पत्राचार गरेपछि आजबाट कार्यालयमा सेवाग्राही सँग रकम लिएर काम गराउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गौरमा रहेको मालपोत कार्यालय परिसरबाट राम नरेश कुमार, संजय कुमार, सिकित नारायण र बबलु प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रणमा रहेका चारै जनासँग सोधपुछ र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नापी, मालपोत र भूमी सुधार कार्यालयमा काम गराउन आउने सेवाग्राहीसँग रकम लिएर ठगी गर्ने तथा अनावश्यक रुपमा कार्यालयका कागजातहरु प्रयोग गर्ने गुनासो बढे पछि आजबाट कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरेको सूचना समेत कार्यालयले जारी गरेको छ ।