ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गयो
२० चैत, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा ट्रयाक्टर दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ।
गढीमाई नगरपालिका ७ स्थित धरमपुर–धनाडी सडक खण्डमा ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर दुर्घटनाग्रस्त अवस्थामा शुक्रवार बिहान फेला परेको हो। स्थानीय बासिन्दाले खेतमा पल्टिएको ट्रयाक्टर र इञ्जिनमा च्यापिएको अवस्थामा चालक देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।
प्रहरीका अनुसार ट्रेक्टर बिहीबार राति धनाडीबाट धरमपुरतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको खेतमा पल्टिएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनामा परी चालक गौर नगरपालिका–६ सबगढाका २८ वर्षीय रञ्जित साहको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको खबर पाएलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय गरुडाबाट टोली खटिएको थियो। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।






