साम्प्रदायिक झडप गराएको आशंकामा शेख जमशेद प्रहरी नियन्त्रणमा
९ फागुन, रौतहट । रौतहटको गौरमा भडकिएको हिंसाको मुख्य जिम्मेवार रहेको आशंकामा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिका वडा नं. ६ सबगढाबाट शुरु भएको दुई समुदाय बिचको विवादको मास्टरमाइन्ड भएको आशंकामा प्रहरीले शेख जमसेदलाई नियन्त्रणमा लिएको छ । बिहिवार साँझ मस्जीदको बाटो हुदै जन्तीको गाडी गए पछि भएको विवादले हिंसात्मक रुप लिएको हो । हिजो शुक्रवार दिनभरीको झडप पछि प्रशासनले दुवै पक्ष बिच ६ बुँदे सहमति समेत गराएको थियो । तर आज बिहानबाटै पुनः सबगढामै दुइ पक्ष बिच ठूलो झडप भएको छ ।
बिहिवार जन्तीको निहुँमा शुरु भएको विवाद शेख जमसेदकै कारणले उग्र बनेको प्रशासनको आशंका छ । सहमति भइसक्दा पनि पुनः आक्रमणका श्रृखंला जारी राखे पछि सबगढा बाहेकका वडाहरुमा पनि आज झडप भएको छ ।
जनमत पार्टीका हाल जिल्ला संयोजक रहेका जमशेद सोही वडाका पूर्व वडा अध्यक्ष हुन । सबगढा घटनामा शेख जमसेदको संलग्नताका केही प्रमाणहरु पनि प्रहरीले फेला पारेको श्रोतको दाबी छ । प्रहरीले जमसेदलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थीत गराएको छ । आफूलाई प्रहरीले घरबाटै लिएर आएको शेख जमशेदले बताएका छन भने प्रशासनले यस विषयमा बोल्न चाहेको छैन ।
हाल सम्म झडपका क्रममा १० जना सामान्य घाइते भएको, २० जना व्यक्ति पक्राउ परेको र ७ मोटरसाइकल र १ थान जीप आगजनिका कारण नष्ट भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताए ।
झडप नियन्त्रणमा लिन प्रहरी ५० थान भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो भने दर्जनौ राउण्ड हवाइ फायर समेत गरेको थियो ।






