चुनावमा भोट माग्ने महावीर पुनको आफ्नै पारा
२१ माघ, रौतहट । महावीर पुनले कुनैबेला म्याग्दीको नागी गाउँलाई विश्वको पहुँचमा पुर्याएका थिए– वायरलेस इन्टरनेट सेवा विस्तार गरेर। यो त्यही बेलाको कुरा हो, जतिबेला छ्यापछ्याप्ती इन्टरनेट थिएन । दूरदराजका गाउँलाई स्वास्थ्य र शिक्षामा सहज सुविधा दिलाउन उनले ल्याएको महत्वाकांक्षी परियोजनालाई ब्रिटिश ब्रोडकास्ट कर्पोरेसन (बीबीसी) ले विश्व समुदायमाझ पुर्याइदिएको थियो ।
सामाजिक सेवाको हार्डवेयर जडित यी धुस्रो–फुस्रो मान्छे पछिल्लो समय भने आविष्कार केन्द्र खोलेर औजार तथा यन्त्रीकरण विस्तारमा लागेका थिए । त्यसका लागि पुग्दो लगानी सरकारबाट प्राप्त नभएपछि उनलाई झोंक चल्यो। आत्मकथा लेखे। अनि त्यही किताब बेच्दै हिँडे– आविष्कार केन्द्रको खर्च जुटाउन ।
यसरी नै किताबको भारी थाप्लोमा बोकेर आफ्नै सुरमा हिँडिरहेका उनलाई हतार–हतार काठमाडौं ल्याएर मन्त्री बनाइयो । मन्त्रीको सपथपछि दौरासुरुवाल लगाएका, दायाँ–बायाँ सुरक्षाकर्मी खडा गरिएका, पत्रकारहरूमाझ घेरिएका महावीर पुनले भनेका थिए, ‘किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदियो यार ।’
महावीर पुनले सायदै कल्पेका थिए– यसरी मन्त्री बनिएला, कुनै दिन भोट माग्दै हिँडिएला । तर, जिन्दगीले उनलाई यो बाङ्गोटिङ्गो बाटोमा ल्याएर छाडिदियो ।
‘चुनाव लडेर के गर्ने? ४ गतेसम्म त म आफैंलाई पनि थाहा थिएन । किन यहाँ आएर लड्नुपर्यो भने धेरै काम त्यहाँ गएर अड्किएको छ। त्यो कामलाई अगाडि बढाउनु पर्यो नि चुनावपछि ।’ उनले अघि सारेका थुप्रै काम थाँती छन् । त्यो काम अरूले गर्छन् भनी पत्याउने स्थितिमा छैनन् उनी। त्यसैले आफैं चुनाव लडेर, जितेर, मन्त्री भएर बाँकी काम सल्टाउनुपर्ने बाध्यताले उनलाई नेता बन्नुपरेछ ।
चुनावमा भोट माग्न। फ्याफ्याटे चप्पल र टाउजर लगाएर उकाली–ओराली गरिरहेका छन् । गाउँबस्ती डुलिरहेका छन् । अनि भनिरहेका छन्, ‘भोट दिने भए देउ, नदिने भए नदेउ ।’
गाउँलेहरू उनलाई भेट्न वा सुन्नभन्दा पनि हेर्न झुम्मिएका छन् । यो क्षण उनका लागि यी गाउँले मात्र होइनन्, मतदाता पनि हुन् । तिनै मतदातालाई रिझाएर उनले आफूलाई चुनावमा जिताउनुपर्ने हुन्छ । तर, मतदाता रिझाउनका लागि उनीसँग कुनै ‘निन्जा टेक्निक’ छैन ।
सुकिलो सुट–पाइन्टमा ठाँटिएर एक अँगालो उखु बाँडिदिएका छैनन्, ढाडै निहुरिने गरी कसैको भारी थाप्लोमा हालेका छैनन्, कुनै बिरामी मान्छेको निधार छाम्न पुगेका छैनन्, आसेपासेहरूको भिड जम्मा गरेर दौडिएका छैनन्, चर्को–चर्को भाषणबाजी गरेका छैनन्, अरूलाई होच्याएर आफूलाई असल देखाएका छैनन् । ‘म यो जिल्लालाई विश्वमा चिनाउँछु’ भन्दै उडन्ते गफ हाँकेका छैनन् ।
पाखुरा नै बाउडिने गरी नमस्ते पोजमा हिँडेका छैनन्, मेरुदण्ड निहुरिने गरी साष्टाङ्ग दण्डवत् टर्क्याएका छैनन् ।
बरु भिटेनले गाएजस्तै ‘म यस्तै त हो नि ब्रो’ शैलीमा गाउँघर चाहर्दैछन् । उनको खादा बोकिदिने र बाटो खुला गरिदिने कार्यकर्ता छैन। झन्डा बोकिदिने र नारा भट्याइदिने कार्यकर्ता छैन । यी एक्लो मान्छे लखरलखर हिँड्दै मतदाता भेटिरहेका छन् । यसो भन्दै, ‘अब तपाईंहरूलाई थाहा छ, चुनावमा उठेपछि चिन्ह पाइन्छ। भोट हाल्ने चिन्ह । र, त्यो चिन्हको कागज पर्चा चाहिँ बाँड्न म यहाँ आएको हो ।’
जितेपछि के गर्नुहुन्छ? हाम्रो गाउँठाउँमा के विकास ल्याउनुहुन्छ ? यी चुनावी मनोविज्ञान बुझेर पनि महावीर पुन कसैलाई आश्वासनको गुलियो जेरी बाँड्दैनन् । सोझै भनिदिन्छन्, ‘म्याग्दीका लागि के गर्न सक्नुहुन्छ भन्छन् । म म्याग्दीको मात्र मान्छे होइन क्या। नेपालभरिको मान्छे हो। साझा मान्छे हो म। म्याग्दीका लागि मात्र होइन, नेपालभरिको फाइदा हुने काम गर्छु ।’
एसियाका नोबेल पुरस्कार भनिने प्रतिष्ठित रमन म्यागसेसेबाट सम्मानित यी खस्रो मान्छे नेता त बनेका छन्, तर फरक शैलीका । उनी मतदाताको सामुन्ने पुगेर चिल्लो–चाप्लो कुरा नगरी सोझै भनिरहेका छन्, ‘म केही वाचा गर्दिन है। तपाईंहरूलाई मन परे भोट देउ, नदिने भए नदेउ ।’






