फौजदारी मुद्दा खेपिरहेका माधव नेपाल : चुनाव जिते के हुन्छ ?

   ९ माघ २०८२, बिहीबार १६:०८  

८ माघ, रौतहट । फागुन २१ गते हुने आमनिर्वाचनमा फौजदारी मुद्दा खेपिरहेका नेकपाका सहसंयोजक माधवकुमार नेपाल लगायत देश भरबाट ४ जना नेताहरु उम्मेदवार बनेका छन । निर्वाचन परिणाम अगावै सफाइ पाए मात्र उनीहरु संसद भवन छिर्न पाउने अवस्था छ, जुन व्यवहारिकरुपमा सम्भव देखिँदैन ।

नेकपाका सहसंयोजक माधव नेपालदेखि रास्वपा सभापति रवि लामिछानेसम्म यो सूचीमा छन । नेपाल रौतहट– १ बाट उठेका हुन । विजयी भइहाले पनि कानूनतः उनी प्रतिनिधिसभा सदस्यमा बहाल हुने अवस्थामा छैनन् । पतञ्जली योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा खरिद गरेको जग्गासम्बन्धी उनीसहित प्रतिवादी बनाइएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले २०६६ माघ १८ गते काभ्रेको ८१५ रोपनी जग्गा किनबेचका लागि अनुमति दिएको थियो । त्यही मुद्दामा उनी मुख्य प्रतिवादी बनाइएका हुन् ।

मुद्दा दर्ता भएकै मितिबाट नेपालको सांसद पद निलम्बित थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार उनी मुद्दा किनारा नलागेसम्मका लागि सांसद पदबाट निलम्बन भएका हुन् । फेरि चुनाव जिते पनि सोही दफा आकर्षित हुन्छ र निलम्बन हुनेछन् । कि त, निर्वाचित हुनुअघि नै मुद्दामा उनले सफाइ पाएको हुनुपर्छ । यदि सफाइ पाएनन् र अभियोग ठहर भयो भने उनी पदमुक्त हुन्छन् । र, आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मदेवार बन्न पाउने छैनन् ।

मुद्दा दर्ता भएकै मितिबाट नेपालको सांसद पद निलम्बित थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार उनी मुद्दा किनारा नलागेसम्मका लागि सांसद पदबाट निलम्बन भएका हुन् । फेरि चुनाव जिते पनि सोही दफा आकर्षित हुन्छ र निलम्बन हुनेछन् । कि त, निर्वाचित हुनुअघि नै मुद्दामा उनले सफाइ पाएको हुनुपर्छ । यदि सफाइ पाएनन् र अभियोग ठहर भयो भने उनी पदमुक्त हुन्छन् । र, आगामी ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मदेवार बन्न पाउने छैनन् ।

निर्वाचन कानूनले फौजदारी मुद्दा नै भए पनि विचाराधीन रहेको र थुनामा नरहेको स्थितिमा उम्मेदवार बन्ने सुविधा दिएको छ । यद्यपि, रौतहटमा भने माधव नेपालको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । उनको उम्मेदवारी बदर गर्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय रौतहटमा उजुरी परेको हो ।

मुद्दा विचाराधीन रहेको र प्रतिवादी थुनामा नरहेको अवस्थामा उम्मेदवारी दिन पाइने सुविधाअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि यसपटक चुनावी मैदानमा छन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी भने ठहर भएको मुद्दासँगै चुनावी मैदानमा उभिएका छन् । कैलालीको १ नं. क्षेत्रबाट उम्मेदवार रहेका उनीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषि ठहर गरेको थियो ।

कैद भुक्तानीका लागि उनी कारागार कार्यालय डिल्लीबजारमा राखिएका थिए । १५ वर्ष कैद माफी गर्न सरकारले गरेको सिफारिस बमोजिम राष्ट्रपतिले आममाफी दिएर उनी रिहा भए । गणतन्त्र दिवसको अवसरमा उनलाई २०८० जेठ १५ गते रिहा गरिएको हो । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका हुन् । त्यसरी रिहा भएको व्यक्तिले कैदबाट मात्रै मुक्ति पाएको मानिन्छ, कसुरबाट हैन ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उदयपुर १ मा उम्मेदवार रहेका बलदेव चौधरी फौजदारी मुद्दा बोकेर मैदानमा उत्रिएका अर्का नेता हुन् । उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भएका थिए ।