२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा रक्तदान कार्यक्रम सम्पन्न
७ माघ, रौतहट । २५औँ सशस्त्र प्रहरी दिवस, २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गणको प्राङ्गणमा प्रादेशिक अस्पताल गौरको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी सहित कार्यालयमा कार्यरत १४ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका हुन् ।
रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल, नेपालले सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, स्वास्थ्य शिविर सञ्चालन, अशक्त, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा तथा खाद्यान्न वितरण, मठमन्दिर सरसफाइ, स्थानीय समुदायमा चेतनामूलक कार्यक्रम, विद्यालयस्तरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता, समकक्षी निकायसँग मैत्रीपूर्ण खेलकुद प्रतियोगिता लगायतका विविध कार्यक्रमहरू सञ्चालन गर्दै गरेको छ ।






