आफूलाई काम दिन बालेनको आग्रह
५ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आफू भाषण भन्दा काम गर्ने मान्छे भएको बताएका छन् ।
रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन । काम गरेको हेर्न चाहनुहुन्छ ?’
जनकपुरमा आयोजित पार्टीको सभामा उनले रास्वपाले प्रदेशलाई अधिकार माग्न काठमाडौं जान नपर्ने गरी सबल बनाउने सुनाए । “जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकार फेर्न काठमाडौं गुहार्नुपर्छ । काठमाडौं घुम्न जाने हो, अधिकार माग्न होइन । प्रदेशको काम वडाको धारा जोड्ने होइन, पालिका जोड्ने हो । यो व्यवस्था परिवर्तन गर्नुपर्छ,’’ उनले भने, “रास्वपाले प्रदेशलाई सबल र समृद्ध बनाउँछ ।’’
उनले जनकपुरलाई विवाहको गन्तव्यदेखि खेलकुदको केन्द्र बनाउनेसम्म उद्घोष गरे । “रामजानकीको विवाह भएको ठाउँ विवाहको गन्तव्य हुनसक्छ । जनकपुर बोल्ट्सले एनपीएल जित्दा सारा मधेस खुसी भएको थियो । अब मधेसको विकास यस्तै उल्लास आउने गरी रास्वपाले गर्नेछ,’’ उनले भने ।
बालेन्द्र शाहले काठमाडौँमा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराइएको कार्यलाई समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे ।
उनले मन्दिर र पोखरी संरक्षणका आफ्ना कामहरू पनि उल्लेख गर्दै जनकपुरमा पनि पोखरी संरक्षण आवश्यक रहेको र त्यो काम अब रास्वपाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आफ्नो पहिलो भाषण भएको र मेयर पदबाट राजीनामा दिएपछि बल्ल फुर्सदमा रहेको बताउँदै उनले आफूलाई काम दिन आग्रह गरे । सभामा उपस्थित जनसमुदायलाई काम गर्न दिने हो भन्दै प्रश्नसमेत गरेका थिए । उनले मिथिलाको पावन भूमिमा आएको बताउँदै पूरै देशमा १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दाबी गरे ।
सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले अन्त्यमा एक मधेसी छोरी प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे । आफू प्रधानमन्त्रीको दाबेदार भएका कारणले नभई रास्वपामा राम्रा मानिस रहेका भन्दै उनले घण्टी चुनाव चिह्नमा मतदान गर्न अपिल गरे ।






