चन्द्रपुरमा महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

   १८ मंसिर २०७७, बिहीबार १४:३८  

१८ मंसिर, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन् । प्रतियोगिताका देशका बिभिन्न १२ नगरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहित भारतको एक टिमको गरी २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिला २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ किलो तौल समुहमा प्रतिस्पर्धा हुनेछ भने टिम काता र एकल काताका खेल हुने सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

प्रतियोगिता आउदो मंसिर २८, २९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगसालामा हुने तयारी रहेको अध्यक्ष पहाडीले बताए । प्रतियोगिताको अन्तीम तयारीमा संघका पदाधिकारी जुटेको आयोजकले जनाएको छ ।