डेढ वर्ष पछि भेटिएको गणपती बस एक सातामा पनि निस्कीएन
४ माघ, रौतहट । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालको पहिरोले सोहोरेर त्रिशूलीमा बेपत्ता भएको गणपती डिलक्स बस त्रिशूलीमा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटिए पनि निकाल्न सकिएको छैन । बसको अवशेष भेटिएको पनि एक साता बित्दा पनि त्रिशूली किनारामा बालुवाले पुरिएको उक्त अवशेष निकाल्न दैनिक ५० जनाको हाराहारीमा सुरक्षाकर्मी परिचालित छन् । नारायणगढ मुग्लिन सडकको चितवनतर्फ भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने स्थानबाट बगाएर तनहुँतर्फको करिब ३ सय मिटर त्रिशूली किनारामा गणपती डिलक्स बस पुरिएको अवस्थामा स्थानीय माछा मार्न गएका व्यक्तिले भेटेका थिए । बसको अवशेष उत्खनन् गर्ने क्रममा निलो रङको गणपति यातायातको बस भएको पुष्टि भएपछि चितवन र तनहुँतर्फको जिल्ला सुरक्षा समितिले बैठक बसेर बस उत्खननमा सुरक्षाकर्मी खटाउने निर्णय गरेका थिए । त्यसयता चितवन र तनहुँ दुबैतर्फका सुरक्षाकर्मी खटिएर बसको अवशेष उत्खनन गरिरहेका छन् । उत्खननमा खटिएका सुरक्षाकर्मीकै अनुसार एक साताको यो अवधिमा २५ प्रतिशत मात्रै बस बाहिर निकाल्न सकिएको छ । त्रिशूली किनारामा नदीसँगै जोडिएको कारणले बस उत्खनन गर्नको लागि सुरक्षाकर्मीलाई सहज छैन । शनिबार पनि चितवनतर्फबाट गएका २५ जना नेपाली सेना, ११ जना सशस्त्र प्रहरी र जनपथ प्रहरी गरि ५० जना हाराहारीमा बस उत्खननमा सुरक्षाकर्मी खटिएका थिए । तर, उनीहरुले बस निकाल्न सकेका छैनन् । दुर्घटनास्थलबाट जम्मा ३ सय मिटर तल गाडिएको अवस्थामा रहेको बस पत्ता लागेन । अर्को एञ्जल डिलक्स त कता छ अहिलेसम्म पत्तो छैन । दुवै बसमा सवार चालकदलका सदस्यसहित ६५ जना यात्रुमध्ये तीनजनाले हामफालेर ज्यान जोगाए पनि ६२ यात्रु बेपत्ता भएका थिए ।






