एमालेले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगायो
४ माघ, रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लगाएको छ।
पार्टी केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले रौतहटका चारवटै क्षेत्रका उम्मेदवारलाई औपचारिक रूपमा अनुमोदन गरेको हो। निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ बाट शैलेन्द्र कुमार साह, क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ बाट रामजी साह सोनार एमालेको उम्मेदवार हुने भएका छन्।
पार्टीले उम्मेदवार छनोट गर्दा स्थानीय तहबाट आएको सिफारिस, जनआधार, राजनीतिक अनुभव, सक्रियता तथा पार्टीप्रतिको निष्ठालाई मुख्य मापदण्ड बनाइएको जनाएको छ। उम्मेदवार टुंगो लागेसँगै जिल्लामा एमालेको चुनावी गतिविधि थप सक्रिय हुने देखिएको छ।
एमालेले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, चुनावी प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई तीव्र बनाउने तयारीसमेत थालेको जनाएको छ।






