काभ्रेबाट बेहुली लिन जाने भन्दै जीप बुक गरेर बैंक लुट्न सिन्धुली पुगेका थिए लुटेरा समूह

   १ माघ २०८२, बुधबार १५:२६  

प्रहरीका अनुसार पाँचजनाको समूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई खुकुरी प्रहार गरेर बैंक लुटेका थिए । सुरक्षा गार्ड बाहेक बैंकका कर्मचारीलाईसमेत नियन्त्रणमा राखेर बैंक लुटिएको थियो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुईजना नुवाकोटका, एकजना चितवन र एकजना मकवानपुरका छन् ।  प्रहरीले बैंक लुट्न प्रयोग गरिएको ०३९८ नम्बरको टाटा सुमो जीप र चालक भगत सिंह थापालाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार बैंकको तीन करोड १० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ ।  लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० सय रुपैयाँ बैंक नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको थियो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले काभ्रेबाट टाटा सुमो जीप बेहुली लिने भन्दै भाडामा लिएर गएको खुलेको छ । तर, सिन्धुली पुगेपछि भने लुटपाटका लागि प्रयोग गरेको देखिएको हो ।

पक्राउ परेकाहरु सबै मजदुर भएको खुलेको छ । उनीहरु घरमा रंग लगाउने समूह रहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीले अधिकारीले भने,‘‘उनीहरु घरमा रंग लगाउने काम गर्ने मजदुर भएको खुलेको छ । सबै सिन्धुली बाहिरका छन् । उनीहरुले घ्याङलेखको बैंक लुट्ने योजना कसरी बनाए भन्नेबारे सोधपुछ गरिरहेका छौँ । अन्यको पनि संलग्नता हुनसक्ने आशंका छ ।’’

गाडीभने उनीहरुले बेहुली लिन जानेभन्दै बुक गरेको खुलेको प्रहरी अधिकारीको भनाइ छ ।  यद्यपी गाडी चालकको भूमिकामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।