बागमती नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम तीव्र, सम्बन्धीत निकाय मौन
३० पुस, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने बागमती नदीमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रम पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ ।
अवैध र गैरकानूनी मानिने यस अभ्यासले नदीको जैविक प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पारिरहेको छ । करेन्ट प्रयोग गर्दा ठूला–साना सबै प्रकारका माछा एकैपटक मर्ने गर्छन । भाले–पोथी, बच्चा र अण्डासमेत नष्ट हुँदा माछाको प्राकृतिक प्रजनन प्रक्रिया अवरुद्ध भई भविष्यको पुस्ता समाप्त हुने खतरा बढेको छ । यसले दीर्घकालीन रूपमा माछाको संख्या घट्नुका साथै नदीको खाद्य श्रृंखलामा असन्तुलन सिर्जना गर्ने जोखिम समेत रहेको वरिष्ठ मत्स्य विकास अधिकृत सरोज कुमार यादवले बताए ।
माछामात्र होइन, भ्यागुता, कछुवा, केकडा, घोंघा तथा विभिन्न प्रकारका जलकिरा समेत करेन्टको चपेटामा परेर मर्ने गरेका छन । यी साना जलचरहरू नदीको स्वच्छता र जैविक सन्तुलन कायम राख्न महत्वपूर्ण मानिन्छन । तिनको विनाशले पानीको गुणस्तरमा गिरावट आउने र सम्पूर्ण नदी प्रणाली नै कमजोर बन्ने खतरा बढेको छ ।
करेन्टले भाले र पोथी दुवै माछा नष्ट हुदा भविष्यमा त्यो प्रजातीको माछानै नरहने जोखिम बढेको स्थानिय बताउछन । स्थानीय बासिन्दाहरूका अनुसार करेन्ट लगाएर माछा मार्दा केही व्यक्तिलाई तत्काल लाभ देखिए पनि यसले समुदायको दीर्घकालीन जीविकोपार्जनमा गम्भीर असर पर्ने निश्चित छ । यस प्रकारको माछा मार्ने कार्य दैनिक रुपमा हुदा पनि सम्बन्धित निकायले अनुगमन र कारवाही गर्न सकेको छैन ।

नदीहरुमा खुलेआम रुपमा पीठयूमा ब्याट्रि बोकेर पानीमा करेन्ट लगाउदै गरेको देखे पनि स्थानिय प्रशासन मुखदर्शक बनेको नूनथरका स्थानिय बताउछन । नियमनकारी निकायको निष्क्रीयताका कारण जलचरको अस्तीत्वनै समाप्त हुने खतरा बढेको छ ।
जलचर संरक्षण ऐन २०७१ र आदेश २०५९ उल्लंघन गर्नेलाई कानूनी कारवाहीको व्यवस्था भए पनि प्रशासन यसतर्फ गम्भीर बन्न सकेको छैन ।
करेन्ट प्रयोग नगरी कानुनी, वातावरणमैत्री र परम्परागत तरिकाबाट माछा मार्दा समुदाय र नदीका जलचर दुवैको अस्तीत्व रहन्छ । बागमती नदीको संरक्षण र जैविक विविधता जोगाउन स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको स्थानीयको भनाइ छ ।






