विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन युवा र जिल्ला सभापति भेला गर्दै संस्थापन पक्ष

   २४ पुष २०८२, बिहीबार १६:०५  

२४ पुष, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिन छुट्टै भेला गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकले २७ मा युवा र २८ मा जिल्ला सभापति भेला गर्ने निर्णय गरेको एक नेताले बताए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । दुवै पक्षले आआफ्नो तयारी अघि बढाएपछि पार्टी विभाजनतर्फ अघि बढेको छ ।

संस्थापन पक्ष सहमतिमा नआए पनि आफूहरू विधान अनुसार अघि बढेको भन्दै नेतृत्व चयन गरेरै अघि बढ्ने विशेष महाधिवेशन पक्षधरको तयारी छ ।

महामन्त्रीद्वयले पार्टी कार्यसम्पादन समितिको बैठकको निर्णय नमानेको भन्दै संस्थापन पक्षले पनि बेग्लै तयारी थालेको हो । कांग्रेसले थप छलफलको लागि आजै बस्ने गरी पार्टी बैठक बोलाएको छ ।