सामाजिक सद्भाव र शान्ति कायम राख्न रौतहट प्रशासनको अपिल

   २२ पुष २०८२, मंगलवार १६:१०  

२२ पुस, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।

सर्वदलीय बैठकमार्फत जारी गरिएको सार्वजनिक अपिलमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइएका भड्काउ, उत्तेजक तथा असहिष्णु अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

अपिलमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकता नै देशको पहिचान भएको जनाइएको छ। यस्ता विविधताले समाजलाई जोड्ने काम गरे पनि पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गरी धार्मिक, सामाजिक तथा सांस्कृतिक आस्थामाथि प्रहार गर्ने गतिविधि देखिन थालेको प्रशासनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सामाजिक सञ्जालमा फैलाइने अफवाह, उत्तेजक सामग्री तथा नकारात्मक सन्देशले सामाजिक एकता र धार्मिक सहिष्णुतामा गम्भीर असर पार्न सक्छ। यस्ता गैरजिम्मेवार गतिविधि गर्ने व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ।

सामाजिक सद्भाव बिगार्ने कुनै पनि प्रकारका गैरकानुनी गतिविधि, प्रदर्शन वा उत्तेजनालाई निरुत्साहित गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई थप सतर्क रहन निर्देशन गरिएको छ। सामाजिक एकता विथोलिएमा त्यसको परिणाम गम्भीर हुने भएकाले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

अपिलमा रौतहट जिल्लामा शान्ति, सद्भाव र भाइचारा कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सरकार, सामाजिक अभियन्ता, धार्मिक अगुवा, सञ्चारकर्मी, नागरिक समाज, शिक्षक, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणलाई आ-आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।