ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
१५ पुस, रौतहट । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।
मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो । बुलेट सडकमै तर्सो परेको छ ।
दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् ।
घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।
हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुलनजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए ।
ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
ग्यास लिक भइरहेकाले आगलागी हुन सक्ने भएकाले दमकल र बुलेटलाई उठाउन क्रेन झिकाइएको छ । जंगल क्षेत्रमा दुर्घटना भएकाले नजिकमा बस्ती भने छैन ।
तर स्थिति पूर्णरूपमा सामान्य नभएसम्म राजमार्ग नखुल्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले बताइन् ।






