शीतलहरले जनजीवन प्रभावित

   १४ पुष २०८२, सोमबार १४:३२  

१४ पौष, रौतहट । पौषको पहिलो हप्ता देखि शुरु भएको शितलहरले रौतहटमा जनजीवन प्रभावित भएको छ ।

रौतहटको दक्षिणी भेगमा चिसोको असर बढी देखिएको छ । बिहान बाक्लो हुस्सु सँगै शित खस्ने र दिनभरी जसो कुहिरो लाग्न थाले पछि सदरमुकाम गौर सहित अन्य पालिकाहरुमा पनि चिसो बढेको छ । कुहीरो संगै चल्ने चिसो हावाले मानिसको चहलपहल मा निकै कमी आएको छ भने रौतहटका स्थानियको जनजीवन प्रभावित हुन थालेको छ ।

सोमवार रौतहट सदरमुकाम गौरको न्यूनतम तापक्रम ८ डिग्री सेल्सीयस र अधिकतम तापक्रम १५ डिग्री सेल्सीयस रहेको छ । अत्याधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । न्यानो लुगाको अभावका कारण गरीब तथा दलित बस्तीहरुमा चिसोका कारण स्थानियलाई रात कटाउन गाह्रो हुने गरेको छ ।

विगत आठ दिन देखी कुहिरो र शित संगै चल्ने चिसो पश्चीमी हावाका कारण स्थानियको दैनिकि पनि सुस्त हुदै गएको छ । बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थीति दिउसो तिर मात्रै हुन थालेको छ । सधैजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरि खुलिरहेका छन । साझ पख पनि चिसो झनै बढने गरे बजारहरु समसाझै सुनसान हुन थालेका छन ।

चिसो बढे पछि जिल्ला वन कार्यालय रौतहटको सहयोगमा नगरपालिकाहरुले सार्वजनिक स्थल र चोकहरुमा बटुवा तथा स्थानियका लागी आगो ताप्ने व्यवस्था गरेका छन । रौतहटका अधिंकाश पालिकाहरुले आफ्नो क्षेत्रका विद्यालयहरुमा जाडो बिदा लम्बाएका छन ।