करदाता सेवा कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना सुरु
१३ पुस, रौतहट । सरकारले गौरस्थित करदाता सेवा कार्यालय हटाउने निर्णय गरेपछि त्यसको विरोधमा रौतहट उद्योग वाणिज्य संघको नेतृत्वमा सर्वदलिय सर्वपक्षिय धर्ना कार्यक्रम सुरु भएको छ ।
संघले आजदेखि करदाता सेवा कार्यालयको मूल गेटमै धर्ना दिँदै विरोध जनाएको हो । संघका पदाधिकारी तथा सदस्यहरूले कार्यालय हटाइएमा रौतहट जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारण करदातालाई गम्भीर समस्या पर्ने बताएका छन । राजनितिक दल, नागरिक समाज तथा स्थानिय व्यापारीहरु सँगको छलफल पछि आज देखी धर्ना कार्यक्रम शुरु भएको उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्र नाथ गोपालीले बताए ।
उनीहरूले करसम्बन्धी सेवा लिन अन्य जिल्लामा धाउनुपर्ने अवस्था सिर्जना हुने, समय र खर्च दुवै बढ्ने तथा स्थानीय आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने भन्दै सरकारी निर्णयप्रति आपत्ति जनाएका छन ।
संघले करदाता सेवा कार्यालय नहटाउन तथा हालको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनीसमेत संघले दिएको छ ।






