सुरक्षाकर्मीकै मिलेमतोमा रौतहटमा व्यापक तस्करी

   १३ मंसिर २०८२, शुक्रबार ११:१२  

१२ मंसिर, रौतहट । निर्वाचनको मिति नजिकिदै जादाँ रौतहटमा व्यापक तस्करी शुरु भएको छ । प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य तथा सहायक नाका भएर दुई दर्जन भन्दा बढी संगठित तस्करहरुले अवैध कारोवार शुरु गरेका छन ।

सिमामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीकै प्रत्यक्ष मिलेमतोमा रौतहटको मुख्य नाका गौर सहित इशनाथ नगरपालिकाको सानो मनसरी, रामपुर खाप, जयनगर, बंकुल, लक्ष्मीपुर लगायतका ग्रामिण नाकाहरुबाट पोके तथा संगठित तस्करहरुले अवैध कारोवारलाई तिव्रता दिएका छन । घरायसी कामका लागी स्थानियले ल्याएका सामानहरुमा कडाई गर्दै स्थानियलाई सास्ती दिने सुरक्षाकर्मीले तस्करहरुलाई बिना अवरोध कारोवार गर्न छुट दिएको भन्दै स्थानिले आक्रोश पोखेका छन ।

गौरको मुख्य नाकाबाट तस्करी गरी ल्याइएको सामान भन्सार रोडमै रहेको विभिन्न घरमा तस्करहरुले जम्मा गर्ने र सोही स्थानबाट जिल्लाका अन्य भागमा पठाउने गरेका छन । ग्रामिण क्षेत्रहरुमा भने राति ११ बजे देखी बिहान ३ बजे सम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा खुलेयाम तस्करी भइरहेको छ ।

यसैगरी राजदेवी नगरपालिकासँग सिमाजोडिएको भारतीय क्षेत्रमा पनि तस्करहरुले गोदामनै राखेर कारोबार गरि रहेका छन ।

स्थानीय बासिन्दाहरुका अनुसार मुख्य नाका गौर बाहेक जिल्लाको ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, महादेवपटी, औरैयाको मनमोहनद्धार, रामपुर खाप, नरकटिया, बंकुल र सिमावर्ती वाराको कचोर्वा भएर ठूलो परिमाणमा सामानहरुको तस्करी भईरहेका छन् । कारोवारीहरु पिकअप भ्यान, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट सरकारी राजस्व छलेर दैनिक करोडौं मूल्य बजारको मालसामानहरु नेपालमा भित्राउने गरेका छन ।

सिमापारी भारतबाट लताकपडा, कस्मेटिक सामान, चिनी, दैनिक उपभोग्यका सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस र प्रतिबन्धित कुखुरा, माछा, लागु औषध सहितका सामानहरु निर्वाध रुपमा नेपाल भित्रने गरेको छ ।

संगठित तस्करहरुले जिल्लाका सुरक्षानिकाय प्रमुख देखी प्रदेशका उच्च सुरक्षाअधिकारीहरु समेतलाई मासिक रकम उपलब्ध गराएर तस्करीको लाइन नै लिएका छन । “चौकीका असइ, हवल्दार देखी जिल्लाका एसपी र प्रदेश सम्म रकम बाडिएको छ ।” अवैध कारोबार सँग सम्बन्धीत व्यक्ति भन्छन “दिउसो छिटफुट रुपमा सामान भित्राउने देखी रातभरी ओसारपसार गर्ने काम भइरहेको छ ।”

यता जिल्लाका सुरक्षाअधिकारीहरु भने आफुहरु तस्करी रोक्न खटिएको र कुनै पनि अवैध कारोबारलाई प्रसय दिने पक्षमा नरहेको रेडिमेड जवाफ फर्काउछन ।