प्रहरीको मिलेमतोमा सन्तपुर मेलामा खुलेआम जुवा
२५ कार्तिक, रौतहट । चन्द्रपुर नगरपालिकाको वडा नं. ८ सन्तपुरमा लागेको कार्तिकेश्वर कुवर मेलामा खुलेआम रुपमा जुवा सञ्चालन भइरहेको छ ।
प्रहरी प्रशासनको मिलेमतोमा मेला संचालकहरुले मेलाको नाममा जुवा खेलाइरहेको स्थानीयले बताएका छन । मेलाका अध्यक्ष कमलेश चौधरी र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङ्गको मिलेमतोमा जुवा भइरहेको हो । लंगुर–बुर्जा लगायतका जुवा खेलहरू रातभरी सञ्चालन भइरहेका र प्रहरी प्रशासनले रोक्न कुनै चासो दिएको छैन ।
मेलामा दर्जनौँ स्थानमा जुवा खेलहरू देखिएको र ती खेलका कारण मेलामा आउने भीड, नगद कारोबार, झगडा तथा अन्य जोखिम बढ्न थालेको स्थानीयहरूले बताएका छन । रातभरी हुने जुवामा नक्कली नोटको प्रयोग समेत भएको स्थानियले आशंका जनाएका छन । प्रहरीको उपस्थितीमै मेला समितिले दर्जनौ स्थानमा खुलेआम जुवा खेलाइरहेका छन ।
मेलामा बालबालिका, महिला र परिवारका लागि मनोरञ्जनको वातावरण कमजोर हुँदै गएको छ । रातको समयमा जुवा खेल्ने भीड बढने गरेको र झगडा र विवादको जोखिम पनि बढेको स्थानिय बताउछन ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङले “कुनै पनि जुवा गतिविधि सहन नगरिने र त्यसलाई नियन्त्रण गर्ने बताए ।” तर डिएसपी लाबुङले भने जस्तो मेलाको तेस्रो दिनसम्म व्यवहारमा कुनै ठोस कार्यान्वयन देखिएको छैन ।
जुवा र अवैध गतिविधिले मेलाको वास्तविक सांस्कृतिक र सामाजिक महत्वलाई छायामा पार्ने खतरा हुन्छ । यसै कारण स्थानीय समुदाय, अभिभावक र व्यवसायीहरू मेलाको सुरक्षा व्यवस्थापन सुधार्न तत्काल कदम चाल्नुपर्ने आवाज उठाइरहेका छन ।






