चाडपर्वको मुखमा रौतहटमा व्यापक तस्करी
३० असोज, रौतहट । तिहार तथा छठ पर्व नजिकिदै जादा रौतहटमा तस्करी पनि फस्टाउदै गएको छ । मुख्य तथा सहायक नाका भएर दुई दर्जन भन्दा बढी संगठित तस्करहरुले रौतहटमा अवैध कारोवार शुरु गरेका छन ।
सिमामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीकै सहयोगमा रौतहटको मुख्य नाका गौर सहित ग्रामिण नाकाहरुबाट पोके तथा संगठित तस्करहरुले अवैध कारोवारलाई तिव्रता दिएका छन । घरायसी कामका लागी स्थानियले ल्याएका सामानहरुमा कडाई गर्दै स्थानियलाई सास्ती दिने सुरक्षाकर्मीले तस्करहरुलाई बिना अवरोध कारोवार गर्न छुट दिएको भन्दै स्थानिले आक्रोश पोखेका छन ।
गौरको मुख्य नाकाबाट तस्करी गरी ल्याइएको सामान भन्सार रोडमै रहेको विभिन्न घरमा तस्करहरुले जम्मा गर्ने र सोही स्थानबाट जिल्लाका अन्य भागमा पठाउने गरेका छन । केही नाकामा हाल बाढीको पानीका कारण बाटो अवरुद्ध भए पछि सशस्त्र प्रहरीले मुख्य नाका गौरबाटै गरुडा र चन्द्रनिगाहपुर सम्मै तस्करीको लाइन दिएका छन ।

यसैगरी राजदेवी नगरपालिकासँग सिमाजोडिएको भारतीय क्षेत्रमा पनि तस्करहरुले गोदामनै राखेर कारोबार गरि रहेका छन । पछिल्लो समयमा चाडबाडलाई लक्षित गरी ब्यापारीहरुले सामान भण्डारण गर्ने क्रम सुरु भएसँगै रौतहटका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम सुरु भएको छ ।
स्थानीय बासिन्दाहरुका अनुसार मुख्य नाका गौर बाहेक जिल्लाको ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, महादेवपटी, औरैयाको मनमोहनद्धार, रामपुर खाप, नरकटिया, बंकुल र सिमावर्ती वाराको कचोर्वा भएर ठूलो परिमाणमा सामानहरुको तस्करी भईरहेका छन् । कारोवारीहरु पिकअप भ्यान, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट सरकारी राजस्व छलेर दैनिक करोडौं मूल्य बजारको मालसामानहरु नेपालमा भित्राउने गरेका छन ।
सिमापारी भारतबाट लताकपडा, कस्मेटिक सामान, चिनी, दैनिक उपभोग्यका सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस र प्रतिबन्धित कुखुरा, माछा, लागु औषध सहितका सामानहरु निर्वाध रुपमा नेपाल भित्रने गरेको छ ।
मुख्य नाकाबाटै भारतमा अवैध रुपमा जम्मा भएका नेपाली नोटहरु समेत सुरक्षाकर्मीकै मिलेमतोमा नेपाल आइरहेको छ । विगतमा हप्तै पिच्छै श्रोत नखुलेका नेपाली रकम सहित मानिस पक्राउ पर्दै आएकोमा हाल त्यो क्रम रोकिएको छ । सिमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा श्रोत नखुलेका रकमहरु रौतहट भित्रिरहेका छन ।

पछिल्लो लामो समय देखी सुरक्षाकर्मीले तस्करीका सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने काम समेत प्राय शून्य भएको छ । तस्करीका सम्बन्धमा आफुले सिमाक्षेत्रमा खटिएका सबै कमाण्डरहरुलाई कडाइ गर्न र गैरकानूनी कार्य रोक्न निर्देशन दिएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका एसपी रामहरि अधिकारीले बताए ।
व्यापारी संग मिलेमतो गरी गैरकानूनी कार्यमा संलग्न भेटिनेहरुलाई कारवाही गरिने समेत एसपी अधिकारीले बताए ।






