विश्वासको मत नलिँदै मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

   २८ आश्विन २०८२, मंगलवार १४:५१  

२८ असोज, जनकपुरधाम। विश्वासको मतका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज सदनमै राजीनामाको घोषणा गरेका छन्।

आज विश्वासको मतको प्रक्रिया अघि बढ्दै गर्दा सिंहले आफ्नो भनाइ राख्दै अन्त्यमा “अब यो सरकारको नेतृत्व गर्न सक्दिन” भन्दै पदबाट हट्ने घोषणा गरे। उनले राजीनामासँगै आफ्नो कार्यकालमा भोगेका चुनौती र पार्टीभित्रको असहयोगप्रति पनि आक्रोश व्यक्त गरे।

सिंहले विशेष गरी जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलमा भएका एकल निर्णयहरूलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया दिएका छन्। उनले पार्टीभित्र संवाद र सहकार्यको अभावले सरकार सञ्चालनमा बाधा आएको बताएका छन्।

उनका अनुसार, बजेट निर्माणको समयमा सानो–सानो योजनामा समेत ५ लाख रुपैयाँसम्मका प्रस्तावलाई अवरोध गरिएको र त्यसबारे पार्टी अध्यक्ष डा. सीके राउतलाई जानकारी गराउँदा पनि उल्टै त्यस्ता कार्यलाई प्रोत्साहन गरिएको आरोप उनले लगाए।

सिंहले भने, “जनताको लागि काम गर्न चाहेको थिएँ, तर पार्टीभित्रकै असहयोगका कारण सम्भव भएन।”

उनको राजीनामासँगै अब मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण खोज्ने प्रयास सुरु भएको छ।