बालेन शाह र सुदन गुरुङमाथि रौतहटमा उजुरी

   २७ आश्विन २०८२, सोमबार १७:०८  

२७ असोज, रौतहट ।  जेनजी आन्दोलनका घटनालाई लिएर रौतहटमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरुङमाथि  युवा संघका कार्यकर्ताहरूले उजुरी दर्ता गराएका छन् ।

युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ता र जिल्ला इन्चार्ज सन्तोषकुमार साहको नेतृत्वमा दर्ता गरिएको उजुरीमा शाह र गुरुङले आन्दोलनका क्रममा भीडलाई उक्साएर सरकारी र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गराएको आरोप लगाइएको छ ।

युवा संघले मुलुकी फौजदारी संहिता २०७४ को दफा २८५(२) अनुसार उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

गौरमा युवा संघका कार्यकर्ताहरूले मोटरसाइकल र्‍याली निकाल्दै विरोध प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा रौतहटमा दर्जनौं सरकारी कार्यालय र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । जिल्ला प्रहरी कार्यालयले उजुरी प्राप्त भएको जनाउँदै आवश्यक प्रक्रिया अघि बढाउने बताएको छ ।