भारतले बाँधको ढोका नखोल्दा गौर डुबानमा 

   २० आश्विन २०८२, सोमबार १४:०७  

२० असोज, रौतहट । नेपाल भारत सिमामा रहेको बाँधको ढोका खोल्न नेपाली पक्षले अनुरोध गरेपनि भारतीय पक्षले ढोका नखोले पछि रौतहटको गौर डुबानमा परेको छ  ।

बाढीको पानीलाई सहज निकास दिन बाँधको ढोकाहरु खुल्ला गरि दिनका लागी रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद खडकाले भारतीय समकक्षीलाई अनुरोध गरेपनि भारतीय डिएमले वेवास्ता गरेका छन । नेपाली सुरक्षा प्रमुखहरुले भारतीय पक्ष सँग हिजो देखीनै बाधको ढोका खोल्न अनुरोध गरेका थिए । तर नेपाली पक्षको अनुरोध वेवास्ता गरेको भारतीय सुरक्षा निकायले बाधमा सुरक्षा गस्ती बढाएर नेपाल तिरको पानीलाई सुलिस गेट मार्फत सहज निकास दिन तयार छैनन ।

भारतीय पक्षले बाँधको ढोका थुनेर नेपाली मार्न लागेको भन्दै रौतहटका स्थानियलहरुले सामाजिक संजालमा भारतीय पक्षको चर्को आलोचना गरेका छन ।

लाल बकैया र बाग्मती नदी उर्लिएर गए राती पसेको बाढीका कारण रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । बाढीका कारण जनजिवन निकै कष्टकर बनेको छ । बाग्मती, लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जन भन्दा बढी पालिकाका बस्तीहरु प्रभावित भएका छन ।

झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउदा रौतहटको गौर, बन्जरहा, गंगा पिप्रा, मत्सरी,  परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकडका बस्तीहरु डुबानमा परेका छन ।

बाढीका कारण गौरबाट बाहिरिने सडकहरु अवरुद्ध भएपछि राजमार्ग संगको सम्पर्क टुटेको छ । बाढीले गौर कलैया सडकखण्ड पनि अवरुद्ध बनाएको छ । संडक संजालमा असर परे पछि गौर भित्रीने वा गौरबाट बाहिर निस्कने अवश्था नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएपी राजु कार्कीले बताए । सदरमुकाम गौरका मुख्य सडकहरुमा ३ फिट सम्म पानी जमेको छ ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला समन्वय समिति, कृषि विकास बैंक, गौर नगरपालिका लगायतका कार्यालय परिसरमा बाढीको पानी पसेको छ भने सशस्त्र प्रहरीको गौर भन्सारमा रहेको बिओपी, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी, सशस्त्र प्रहरीको बेलबिछवामा रहेको बिओपी, नेपाल प्रहरीको चौकी, सशस्त्र प्रहरीको नम्बर ११ गण समेत डुबानमा परेको छ ।

बाढीका कारण रौतहटका अहिले सम्म २ जनाको ज्यान भएको छ भने ५ सय भन्दा बढी परिवार विस्थापीत भएका छन ।

बाढीको समय भारत तर्फबाट नेपालको गौर नाकामा आएर अलपत्र परेका यात्रुहरुलाई गौर नगरपालिकाको टयाक्टरले उद्धार गरेर सुरक्षित गन्तव्य तर्फ पठाइरहेको गौर नगरपालिकाका मेयर शम्भू साहले बताए ।