तरकारी बोकेको भ्यानबाट गाँजा बरामद

   ५ आश्विन २०८२, आईतवार १२:४१  

५ असोज, रौतहट । तरकारी ओसार्ने भ्यानबाट रौतहट प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।

शनिबार साँझ करिब साढे सात बजेतिर इशनाथ नगरपालिका वडा नं. ८ मोतिपुर सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले तरकारी बोकेको गाडीबाट गाँजा बरामद गरेको हो । प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानलाई प्रहरी चौकी रामपुरखापको टोलीले चेकजाँज गर्दा सो बाट ३ सय ३४ केजी गाँजा बरामद भएको हो ।

तरकारी बोकेको सो भ्यानको माथिल्लो भागमा २० बोरा फुलकाउली देखिने गरी राखिएको तर त्यसको तल २६ पोका गाँजा लुकाइएको अवस्थामा फेला परेको प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले बताए ।

गस्ती टोलीलाई देखेपछि चालक गाडी छोडेर फरार भएको र त्यसपछि गरिएको चेकजाँचमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गाँजा मध्ये १५ केजी तौलका १९ पोका र ७ केजी तौलका ७ पोका गरी जम्मा ३ सय ३४ केजी रहेको छ ।

प्रहरीका अनुसार गाँजासहितको भ्यान नियन्त्रणमा लिएर फरार चालक र संलग्न तस्करको खोजी कार्य भइरहेको डिएसपी कार्कीले बताए ।