रौतहटमा बोक्सी आरोपमा महिलालाई मानव मलमूत्र खुवाइयो

   २३ भाद्र २०८२, सोमबार १४:५९  

२३ भदौ, रौतहट । रौतहटको गरुडामा बोक्सी आरोपमा एक महिलालाई कुटपीट गरेर मानवमत्र खुवाइएको छ ।

रौतहटको गरुडा नगरपालिका ८ बसबिट्टि जिगंडियामा एक ५५ वर्षिया महिला सुशिला देवीलाई छिमेकीहरुले बोक्सी आरोपमा निर्घात कुटपिटि गरेर मानव मलमूत्र खुवाएका हुन ।

हिजो बिहान स्थानिय संगिता देवीको मृत्यु भएपछि उनका परिवारजनले सुशीलाले टुनामाना गरेर मारेको भन्दै उनलाई निर्घात कुटपीट गरी कपाल समेत मुडंन गरेर मानवमुत्र खुवाएको भन्ने जानकारी प्राप्त भएपछि तत्कालै चौकी विर्ता र इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी अस्पताल पुर्‍याएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले बताए ।

संगिता देवीको मृत्यु भएपछि उनका श्रीमान दिनेश सहित छोरा गोलु साह कानु सहितका व्यक्तिहरु मिलेर सुशीलालाई अमानविय व्यवहार गरेको भन्दै परिवारजनले ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको डिएसपी कार्कीले बताए ।

“बोक्सीको नाममा महिलालाई अमानवीय व्यवहार गर्नेहरुको हामीले खोजतलाश गरिरहेका छौं ।” डिएसपी राजन कार्कीले भने “छिमेकी महिला बिरामी परेर उपचारका क्रममा वीरगंजमा मृत्यु भएपछि उनका परिवारजनले सुशीला माथि बोक्सी आरोप लगाएर अत्यन्तै अमानवीय कार्य गरेका छन ।” पीडित परिवारले दिएको जाहेरीको आधारमा प्रहरीले कानूनी कारवाही अगाडी बढाएको उनले बताए ।