जेन जी आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईं ‘नट अलाउड’
२२ भदौ, काठमाडौं । जेन जेडले भोलि माइतीघरमा गर्ने स्तस्फुर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई ‘निषेध’ गरिने भएको छ । प्रसाईं आएको खण्डमा उनीविरुद्ध ब्यानर प्रदर्शन गर्ने एक अभियन्ताले जानकारी दिए ।
भोलि भदौ २३ मा थापाथलीस्थित माइतीघरमा अलिकति फरक खालको आन्दोलन देखिँदैछ । ‘जेनेरेसन जेड’ भनेर चिनिने नयाँ पुस्ताले भोलि बिहानैदेखि माइतीघरमा विरोध कार्यक्रम गर्ने भएका छन् ।
सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि भर्चुअल दुनियाँमा रमाइरहेका उनीहरूले भौतिकरूपमै आन्दोलन गर्न लागेका हुन् । नेपाल सरकारले केही दिनअघि सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० अनुरूप सूचीकरण नभएका फेसबुक लगायत सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने निर्णय गरेपछि युवाहरूको ठूलो जमात रुष्ट छ ।
जेन जेड/जेन जीयुवाहरू सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरु प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग राखेर आन्दोलनमा उत्रिन लागेका हुन् । यो आन्दोलनमा आफू पनि सहभागी हुने घोषणा प्रसाईंले आज फेसबुकबाट गरेका थिए ।
तर, आज तीनकुनेमा बसेको जेन जेडका अगुवाहरूको बैठकले भने उनलाई सहभागी नगराउने निर्णय लिएको हो । प्रसाईं माइतीघर आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय बैठकबाट भएको छ ।






