किर्तिपुरबाट लक्ष्मणको शव ल्याउन परिवारजनलाई समस्या
१३ भदौ, रौतहट । सुटकेसमा शव भेटिएको रुबी हत्याकाण्डका अभियुक्त लक्ष्मण पासवानको शव किर्तिपुरबाट घर ल्याउन उनका परिवारजनलाई आर्थिक समस्या भएको छ ।
माधवनारायण नगरपालिका–६ माधोपुरका लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उनको उपचारको क्रममा किर्तिपुरको बर्न अस्पतालमा ज्यान गएको थियो । लक्ष्मणको मृत्यु भएको दुई दिन बिति सक्दा पनि उनको शव परिवारजनले घर ल्याउन पाएका छैनन । छोराको शव ल्याउन पैसा नभए पछि उनका बुवा जयनाथ पासवानले जनप्रतिनिधिहरुसँग आर्थिक सहयोग मागेका छन ।
घरको एक्लो छोरा लक्ष्मण पासवानको बुधबार साँझ काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि घरसम्म शव ल्याउने खर्च जुटाउन नसक्दा पीडा भएको पासवानले बताए । “उपचारका लागी काठमाण्डौं लगेको थियो त्यहाँ मृत्यु भएपछि अब शव ल्याउन समेत हामी सँग पैसा छैन ।” जयनाथ पासवानले भने “छोराको शव ल्याउन मेयर साहेबसँग आर्थिक सहयोग मागेको छु ।”
माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादवले लक्ष्मणको शव ल्याउन आफुले सहयोग गर्ने बताएका छन । “निकै दुःखद घटना भएको छ तर लक्ष्मणको शव परिवारजन सम्म पुर्याउन मैले सक्दो सहयोग गर्छु भनेको छु ।” मेयर यादवले भने “उनको परिवारको अवश्था निकै नाजुक छ । पासवान परिवार अहिले कठिन घडीमा छ ।”
शनिबार साँझ गौर ५ मा रहेको लक्ष्मण पासवानको डेरामा पुगेकी रुबी साहको शव सोही दिन राति गौर ९ मा मुडवलवा गेट अगाडी सुटकेसमा फेला परेको थियो । रुबीको हत्यामा संलग्न रहेको आरोपपछि लक्ष्मण पासवानले आत्महत्याको प्रयास गरेका थिए । शरीरमा आगो लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी उपचारमा पठाएपनि उपचारकै क्रममा ज्यान गएको थियो ।
लक्ष्मण पाँच वर्ष रोजगारीका सिलसिलामा मलेसिया गएका थिए । मलेसियामा कमाएको पैसाले उनले बुवाको उपचार गराएका थिए भने ऋण समेत तिरेका थिए । लक्ष्मणको श्रीमती, दुई नाबालक छोरा, आमा र बुवा मात्र छन ।
आफुलाई आगो लगाउनु भन्दा पहिले लक्ष्मणले नौ मिनेटको भिडियो रेकर्ड गर्दै आफ्नो अपराध स्वीकार गरेका थिए ।






