आलम सफाइ प्रकरणमा कानुनमन्त्री चौरसियाको भूमिका शंकास्पद
४ भदौ, काठमाडौं । रौतहटको राजपुरमा भएको विस्फोटको घटनामा मुछिएको नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताव आलमले सफाइ पाएको घटनामा कानुनमन्त्री अजयकुमार चौरसियाको भूमिका शंकास्पद भेटिएको छ ।
न्यायपरिषद्ले सफाइको घटनामाथि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा रहने गरी एक सदस्यीय समिति बनाएर छानबिन गराइरहेको थियो । त्यसक्रममा भेटिएका विवरण र अरू गतिविधिले कानुनमन्त्री चौरसियाको भूमिका शंकास्पद देखिएको हो ।
१४ जेठ, २०८२ मा उच्च अदालत वीरगञ्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले ज्यानमुद्दाको आरोपबाट आलम लगायतलाई सफाइ दिएको थियो ।
न्यायपरिषद् सम्बद्ध स्रोतले भन्यो, ‘त्यो दिन फैसलापछि कानुनमन्त्री अजयशंकर चौरसियाले रौतहटको राजपुर नगरपालिकाका प्रमुख डा. मोहम्मद राजिक आलमलाई फोन गरेको देखिन्छ ।’ डा. रजिक मोहम्मद आफ्ताव आलमका छोरा हुन् ।
आलमलाई सफाइ दिलाउन कानुनमन्त्री चौरसियाले न्यायपालिकाको कामकारबाहीमै ठाडो हस्तक्षेप गरेको आरोप लागेको छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभामै यसबारेमा प्रश्न उठाएका थिए भने कानुन व्यवसायीहरुले न्यायाधीश थारू र कानुनमन्त्री चौरसियाको कल डिटेल रेकर्ड छानबिन गर्न माग गरेका थिए ।
त्यसलगत्तै कानुनमन्त्री चौरसियाले कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेका थिए ।
दुईजनाबीच २२ सेकेण्ड कुरा भएको अभिलेख न्यायपरिषद्को छानबिन समितिमा पेश भएको छ । स्रोतका अनुसार, फैसलाको विवरण सार्वजनिक भएलगत्तै चौरसियाले आलम अनि पछि देउवालाई फोन गरेका थिए ।
अनलाइनखबर बाट






