कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ नेपालीको मृत्यु

   १ भाद्र २०८२, आईतवार १५:५३  

१ भदौ, कुवेत । कुवेतमा विषादी (मिथानोल) मिसाइएको मादक पदार्थ सेवनका कारण ११ जना नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार शनिबारसम्मको तथ्यांकअनुसार मृतक संख्या ११ पुगेको हो।

विशाक्त मदिरा सेवनका कारण ४० जना नेपाली बिरामी परेर कुवेतका विभिन्न अस्पतालमा उपचाररत छन्। श्रमसहचारी आचार्यका अनुसार बिरामीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् भने कतिपय सामान्य उपचारपछि निको हुने क्रममा छन्।

कुवेतमा मदिरा सेवन अवैध मानिँदै आएको छ। सामान्य अवस्थामा रहेका पीडितहरूसँग सोधपुछ गर्दा साथीभाइको सर्कलमार्फत मदिरा प्राप्त भएको जानकारी दूतावासलाई प्राप्त भएको आचार्यले बताए।
“दुःखद् घटना भएको छ। हामीले यसबारे सोधपुछ गर्दा साथीभाई सर्कलबाट मदिरा प्राप्त गरेको बताउनुभयो। दूतावासले यसबारे सचेतना पनि गराइरहेको छ,” उनले सेतोपाटीसँग भने।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथानोल मिसाएको मादक पदार्थ सेवनका कारण १६० जना आप्रवासी बिरामी भएका थिए। उनीहरूमध्ये २० जनाभन्दा बढी आप्रवासीहरूको मृत्यु भएको पुष्टि भएको छ।