वकिललाई कारबाहीको माग गर्दै धनुषामा पत्रकारहरुको धर्ना
१ भदौ, जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिएका छन्।
धर्नामा सहभागी पत्रकारहरूले आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले दोषीलाई उन्मुक्ति दिन खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन्।
नेपाल पत्रकार महासंघले कानुनी प्रक्रिया पूरा गरेर लिजमा लिएको जनकपुरस्थित ४ कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए। घटनामा संलग्न व्यक्तिहरूलाई अझै पक्राउ नगरिएको भन्दै पत्रकारहरूले आक्रोश व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरु जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका छन्।






