सर्लाहीमा शिक्षकको हत्या, गोली हान्ने व्यक्ति दुर्घटनापछि पक्राउ

   ३२ श्रावण २०८२, शनिबार १२:४६  

३१ साउन, काठमाडौं । सर्लाहीमा एक शिक्षकको गोली प्रहारबाट हत्या भएको छ । गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले मोटरसाइकल दुर्घटनापछि पक्राउ गरेको छ ।

हत्या भएका शिक्षक रामपुकार यादवलाई बिहीबार राति करिब साढे ८ बजे घर अगाडै मोटरसाइकलमा आएका हतियारधारीले टाउकोमा गोली हानेका थिए । गम्भीर घाइते यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो ।

प्रहरीका अनुसार भाग्दै गर्दा मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्ति पनि गम्भीर घाइते भएका छन् र उनलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए ।