रौतहटमा संगठित तस्करी, ठूलो परिमाणमा सामान बरामद
३१ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भारतबाट तस्करी गरेर भण्डारण गरेको सामान बरामद गरेको छ । यस घटनाले रौतहटमा संगठित तस्करी भएको पुष्टी समेत गरेको छ ।
सशस्त्र प्रहरीले गरुडा नगरपालिका–५ स्थित शिवनगरको एक घरमा छापा मार्दै भारतबाट अवैध रुपमा भित्राएको चिनी, लुगाधुने सर्फ, रासायनिक मल र सिमेन्ट बरामद गरेको छ । सिमानाकामा प्रहरी प्रशासनको मिलेमतोमा संगठित तस्करहरुले भारतीय बजारबाट ल्याएका सामानहरुलाई रौतहटको मध्यबजार गरुडामा भण्डारण गर्दै देशका अन्य भागमा पठाउने कार्य केही समय अघि देखी हुदै आएको थियो ।
प्रमुख जिल्ला अधिकारीको निर्देशनमा गरिएको छापामा १०६ बोरा चिनी, १० बोरा लुगाधुने सर्फ, १० बोरा रासायनिक मल र ९ बोरा सिमेन्ट बरामद भएको सशस्त्र प्रहरीबलले जनाएको छ ।
भारतबाट तस्करी गरी गरुडामा सामाग्री भण्डारण गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा शम्भु चौरसिया र सशस्त्र प्रहरीका डिएसपी अमर लामाको नेतृत्वमा रहेको टोलीले शिवनगरमा रहेको उपेन्द्र सहनीको घरमा छापा मारेको थियो ।
बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागी भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी उपरिक्षक सन्तोषकुमार बस्नेतले बताए ।
हाल रौतहटमा खाद्यान्न, कपडा, मोटरपार्टस, भैंसी, कुखुरा, मदिरा लगायतको तस्करी भइरहेको छ । प्रहरी प्रशासनकै मिलेमतोमा जिल्ला देखी प्रदेशका अधिकारीहरुले समेत तस्करहरु संग रकम बुझेर संगठित तस्करीको लाइन संचालनमा छुट दिएका छन ।






