काठमाडौंमा हुण्डी र क्रिप्टो कारोबारी पक्राउ, ६ करोडभन्दा बढी रकम बरामद

   ३१ श्रावण २०८२, शुक्रबार १४:२५  

३० साउन, काठमाडौं । प्रहरीले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । उनीहरूको कब्जाबाट नगद र अभौतिक मुद्रासहित ६ करोडभन्दा बढी बराबरको रकम बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल र २५ वर्षीय मनमोहनकुमार सिंह, भारत विहार प्रदेश सीतामडी बैरगनियाका ३३ वर्षीय विक्रम जयसवाल तथा मोतिहारी चिरहियाका ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन्।

प्रहरीले उनीहरूलाई बिहीबार काठमाडौंको कालोपुलस्थित डेराबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि प्रहरीले उनीहरूबाट १५ लाख ३३ हजार नगद बरामद गरेको छ। साथै, मोबाइल फोन जाँच गर्दा थप ६ करोड ६ लाख ६३ हजार ६ सय ८७ रुपैयाँ एक पैसा बराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको प्रमाण समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यी व्यक्तिहरू लामो समयदेखि हुण्डी र क्रिप्टो कारोबारमा संलग्न थिए। हुण्डीमार्फत अवैध रुपमा पैसा भित्र्याउने र बाहिर पठाउने काम गरिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। पक्राउ परेकाहरूमाथि विद्यमान कानूनी प्रावधानअनुसार मुद्दा दर्ता गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।