फतुवा बिजयपुर नगरपालिकामा भ्रष्टाचार
२६ साउन, रौतहट । फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवको मिलेमतोमा स्थानीय प्रशासनमा व्यापक भ्रष्टाचार भएको तथ्य खुलेको छ। करोडौं रुपैयाँको दुरुपयोग, नियमविपरीत नियुक्ति र बजेटको अनियमित खर्चले नगरपालिकाको विकास कार्य ठप्प भएको छ भने स्थानीय जनतामा विश्वास गुम्ने अवस्था सिर्जना भएको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा योजना प्रमुख बिल्लुराय यादवलाई हटाएर कार्यालय सहयोगी रामशंकर यादवलाई सहायक कम्प्युटर अपरेटरबाट योजना शाखा प्रमुख पदमा पुनः नियुक्त गरिएको छ। यस कदमले कुनै औपचारिक प्रक्रिया पालन नगरी योजनाको कार्यक्षमता कमजोर बनाएको स्थानीय समाजसेवी अवधेशकुमार यादवले बताएका छन्। योजनाको बजेट बेवास्ता गर्दै भ्रष्टाचार गरिएकाले जनधनको भारी हानी भएको उनी बताउँछन्। मेयर कानूनी कारवाहीमा परेपछि कार्यवाहक नगरप्रमुखको जिम्मेवारीमा आएकी खातुनले पदीय मर्यादाको ख्याल नगरी आफुखुशी शिलालेखमा नगरप्रमुखको रुपमा आफ्नो नाम लेखाएपछि उनको चर्को आलोचना भएको छ ।
सरकारी कार्यालयमा आधिकारिक ड्राइभरको बावजुद थप ड्राइभर र ७० वर्षीय स्वास्थ्यकर्मी बद्री थापा लगायत ४–५ जना गैरजरुरी व्यक्तिहरूलाई पदमा राखिएको छ। यसले सरकारी सवारी साधनको अत्यधिक प्रयोग, पेट्रोलियम पदार्थको अनियमित वितरण, खाना खर्च र तलबभुक्तानीमार्फत नगरपालिकामा आर्थिक भार थपिएको छ। अवकाशप्राप्त सई रामानन्द यादवका अनुसार दैनिक सरकारी गाडी ४० किलोमिटर सम्म चलाइन्छ भने निजी गाडीहरूलाई समेत दैनिक सयौं लिटर पेट्रोल वितरण गरिएको छ।
नगरपालिकाको इ–बिल्डिङ्ग कार्यक्रम अन्तर्गत औषधि खरिदमा पनि सप्लायरसँग मिलेमतो गरी टेन्डर प्रक्रिया उल्लङ्घन गरिएको छ। ७१ लाख रुपैयाँ बचत भएको रकम पुनः त्यही सप्लायरबाट औषधि र सेनेटरी प्याड किनेर अनावश्यक खर्च बढाइएको छ। पूर्व सई यादवले यस विषयमा गम्भीर आपत्ति जनाउँदै थप छानबिनको माग गरेका छन्।
२०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर गोपालप्रसाद यादवले २०८० मा दोषी ठहर भएपछि पद त्यागेपछि उपमेयर अम्बेया खातुन कार्यवाहक मेयर बनेकी थिइन्। यद्यपि, कार्यवाहक नेतृत्वमा रहेको बेला बजेटको भागबन्डा विवादले नगरसभाको ढिलाइ भएको छ। गत असार १० गते हुनुपर्ने नगरसभा अहिलेसम्म नहुनु प्रशासनिक कमजोरी र राजनीतिक द्वन्द्वको संकेत हो। स्थानीय तहको नीति र कार्यक्रम कार्यान्वयनमा अवरोध आउँदा विकासका गतिविधि प्रभावित भएका छन्।
स्थानीय समाज र जनप्रतिनिधिहरूले फतुवा बिजयपुरमा देखिएको भ्रष्टाचार र मिलेमतोले जनताको विकास अपेक्षा कमजोर भएको प्रतिक्रिया दिएका छन्। “यस्तो प्रशासनिक अनियमितता नगरपालिकाको विकासलाई ढिलो बनाउँदैछ र जनतामा विश्वास हराउँदैछ,” स्थानीय व्यापारी बिजय यादवले भने। उनी भन्छन्, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले छिटो छानबिन गरी कारबाही नगरे यस्ता घटनाहरू दोहोरिने खतरा उच्च छ।”
यस विषयमा प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृत यादवले ‘केही मानिसलाई दैनिक ज्यालादारीमा राखेको मात्र हो’ भन्दै आरोपको खण्डन गरे । ‘आउनुस न बसेर कुरा गरौंला’ भन्दै उनले अन्य प्रश्न पन्छाए । कार्यवाहक मेयर खातुनले भने सम्पूर्ण आरोप अस्वीकार गर्दै आफूविरुद्ध षड्यन्त्र भएको प्रतिक्रिया दिइन् ।
फतुवा बिजयपुर नगरपालिकामा व्यापक भ्रष्टाचार र प्रशासनिक कमजोरीले जनताको विश्वासमा गम्भीर धक्का पुर्याएको छ। सरकारी स्रोतको दुरुपयोग, राजनीतिक द्वन्द्व र योजनाको गुणस्तरमा आएको गिरावटले स्थानीय विकास र समृद्धिलाई चुनौती दिएको छ।






