खडेरीले मधेसको धान उत्पादन २७ प्रतिशत ह्रासको सम्भावना
२६ साउन, धनुषाधाम । खडेरी र अपर्याप्त वर्षाले यस वर्ष मधेस प्रदेशको धान उत्पादनमा गम्भीर असर पारेको छ।
आठ जिल्लामा हालसम्म जम्मा ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ, जसका कारण कुल उत्पादन करिब २७ प्रतिशतले घट्ने अनुमान गरिएको छ।
कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार बारामा ९५ प्रतिशत रोपाइँ भए पनि महोत्तरीमा ६१.५ प्रतिशतमै सीमित छ। कुल ५ लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने परम्परा भए पनि हालसम्म २ लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको छ।
बारा–पर्सामा गण्डक नहर, सप्तरीमा कोशी र सर्लाही–रौतहटमा बागमती नदीको पानीले केही किसानलाई राहत दिएको छ भने धनुषामा कमला नदी सुक्दा सिँचाइको संकट बढेको छ। बोरिङमार्फत केही क्षेत्रमा रोपाइँ बढाइएको भए पनि प्रदेशभर पर्याप्त पानीको आपूर्ति हुन सकेको छैन।
मधेस प्रदेश सरकारले भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम घोषणा गरेपछि २२ हजारभन्दा बढी किसानले राहतका लागि आवेदन दिएका छन्। मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार १८ करोड रुपैयाँको बजेट छुट्याइए पनि यो पर्याप्त छैन, र संघीय सरकारको थप सहयोग पर्खिरहेको अवस्था छ।
विशेषज्ञहरूका अनुसार यदि यस्तै पानीको अभाव र ढिलो रोपाइँको समस्या जारी रह्यो भने यस वर्षको मात्र नभई आगामी वर्षको खाद्यान्न सुरक्षामा समेत असर पर्न सक्छ।






