इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

   २१ श्रावण २०८२, मंगलवार १५:२०  

२० साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बानियाँले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि आवश्यक ५६ को बहुमत प्राप्त गरेपछि उनी नियुक्त भएका हुन्।

नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत रहेका मकवानपुर निवासी बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन्। उनीभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन्।

बानियाँ मकवानपुरबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन्। उनी यसअघि केन्द्र सरकारमा गृह तथा संस्कृति पर्यटन राज्यमन्त्री भइसकेका छन्। संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका बानियाँ माओवादी र एमालेको बलियो प्रभाव रहेको मकवानपुरबाट कांग्रेसका तर्फबाट विजयी भएका पहिलो नेता हुन्।

प्रदेशसभा निर्वाचन २०७४ पछि बानियाँ कांग्रेस संसदीय दलको नेता बनेका थिए। तर, दलको नेताका लागि १३ पुस २०७९ मा भएको निर्वाचनमा बहादुरसिंह लामासँग ५ मतले पराजित भएका थिए। लामाकै नेतृत्वमा बनेको सरकारविरुद्ध बानियाँले ९ साउनमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। १३ साउनमा भएको मतदानमा प्रस्ताव पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाको नेतृत्व गुमेको थियो।

त्यसपछि १४ साउनमा भएको दल नेताको निर्वाचनमा विजयी बनेका बानियाँले मंगलबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। प्रमुख दलहरूले स्पष्ट बहुमत नपाएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बानियाँ मुख्यमन्त्री बनेका हुन्।