धादिङको गजुरी र रौतहटको गौरमा ‘धेरै भारी’ वर्षा
१९ साउन ,रौतहट । देशका केही स्थानमा पछिल्लो २४ घण्टामा ‘धेरै भारी’ वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तीमध्ये सबैभन्दा बढी पानी धादिङ जिल्लाको गजुरीमा परेको छ।
महाशाखाले सोमबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार, गजुरीमा १६९.४ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसपछि रौतहटको गौरमा १४२.४ मिलिमिटर र महेशपुरमा १४१.४ मिलिमिटर पानी परेको छ।
महाशाखाका अनुसार, हाल कर्णालीबाहेक देशका अधिकांश प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा जारी रहेको छ। गत शुक्रबार (साउन १६) यता सक्रिय मनसुनका कारण देशभर हल्कादेखि धेरै भारी वर्षासम्म भइरहेको छ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
महाशाखाले मनसुन अझै केही दिन सक्रिय रहने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण बाढी, पहिरो र जलमग्नताको सम्भावना भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ।






