मधेसमा मनसुन सक्रिय, तर पर्याप्त वर्षा अभावमा रोपाइँ प्रभावित

   १९ श्रावण २०८२, आईतवार १३:५५  

१८ साउन, रौतहट । मधेस प्रदेशमा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुनुले कृषकहरु चिन्तित छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरेको छ, जसका कारण केही स्थानमा हल्कादेखि मध्यम वर्षा मात्र मापन गरिएको छ।

विभागका अनुसार मनसुन प्रणाली लामो समय भारततर्फ सक्रिय रहेकाले मधेसमा अझै पूर्णरुपमा वर्षा सक्रिय हुन नसकेको हो। पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सिरहामा सबैभन्दा बढी ९९.४ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, सप्तरीको बरमझिया ९१.८ मिलिमिटर, लहान ७७.२ मिलिमिटर, चिसापानी ६८.२ मिलिमिटर, महोत्तरीको गौशाला ५७.६ मिलिमिटर, सिरहाको गोलबजार ५२.२ मिलिमिटर, धनुषाको हर्दिनाथ ४७ मिलिमिटर, तुलसी ४७.६ मिलिमिटर र सर्लाहीमा ४८ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ। तर, बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ।

मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा कम सप्तरी, सिराहा, महोत्तरी र धनुषा गरी चार जिल्लामा रोपाइँ भएको छ । महोत्तरीमा ४२ हजार पाँच सय हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गामध्ये १५ हजार ८९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । अर्थात् ३९.७३ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत सरोज चौधरीले जानकारी दिनुभयो । सप्तरीमा ४० र धनुषामा ४० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको उहाँले बताउनुभयो । सिराहामा पनि ५० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । पर्सामा ८५, बारामा ८३, रौतहटमा ७३ र सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेशमा पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य छ । जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल जग्गमा धान रोपाइँ हुने गरेको छ । अहिलेसम्म दुई लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफल जग्गामा मात्र धान रोपाइँ भएको छ ।

तराईका जिल्लामा अझै बाँकी रहेका खेतमा रोपाइँ सम्पन्न गर्नका लागि निरन्तर वर्षा आवश्यक रहेको कृषि कार्यालयले जनाएको छ। लगातारको वर्षा नहुँदा धानको रोपाइँ ढिलो हुन थालेको र यसले उत्पादनमा प्रतिकूल असर पार्न सक्ने चिन्ता बढेको छ।