आलमलाई दोषी ठहर गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन, १२ आधार प्रस्तुत
४ साउन, रौतहट । रौतहट विस्फोट घटनामा पूर्वसांसद मोहम्मद आफताब आलमसहितलाई सफाइ दिएको उच्च अदालत वीरगञ्जको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
फैसलामा प्रमाणको मूल्यांकन नगरी मनोगत रूपमा आरोपितलाई सफाइ दिइएको भन्दै १२ वटा आधारसहित फैसलाको बदर माग गरिएको हो।
महान्यायाधिवक्ता कार्यालयले विस्फोटमा मारिएका त्रिलोकप्रताप सिंह र ओसी अख्तरको अवस्था अस्पष्ट भएको भन्दै अदालतले अज्ञातको रूपमा फैसला गर्नु त्रुटिपूर्ण भएको जिकिर गरेको छ। घटनास्थलबाट बरामद कपडा, प्रत्यक्षदर्शीको बयान, घाइतेहरूको स्वास्थ्य प्रतिवेदन, प्रहरीको अनुसन्धान, मृतकका आफन्तद्वारा दिइएका जाहेरीलगायतका प्रमाणहरूलाई बेवास्ता गरिएको आरोप छ।
अभियोजन पक्षले आलमले निर्वाचन प्रभावित पार्न बम विस्फोट गराएको, घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरिएको र प्रमाण लुकाउने प्रयास भएको दाबी गर्दै दोषीलाई उन्मुक्ति दिन नमिल्ने जनाएको छ।
महान्यायाधिवक्ता कार्यालयले ‘संपूर्ण प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाइ दिने फैसला बदर गरी कानुनी सजाय दिन’ माग गरेको छ।






