पारिवारीक तनावमा पत्रकारले गरे आत्महत्या
४ साउन, रौतहट । रौतहटको कटहरीया नगरपालिकामा संचालित एक रेडियोका समाचार वाचकले आत्महत्या गरेका छन ।
कटहरीया नगरपालिकामा संचालित कटहरीया म्यूजिकल एफएमका समाचार वाचक ३० वर्षिय रविन्द्र प्रजापतिले हिजो साँझ आत्महत्या गरेका हुन । कटहरीया ५ को आफ्नै घरमा झुण्डिएको अवश्थामा उनलाई देखे पछि परिवारजनले पासो काटेर नजिकैको स्वास्थ्य चौकीमा पुर्याएका थिए । थप उपचारका लागी उनलाई गरुडाको एक निजी अस्पतालमा पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
विगत केहि दिन देखि उनी अत्याधिक पारिवारिक तनावमा थिए । पत्रकार प्रजापतिले आत्महत्या गर्नुको कारणको बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको डिएसपी दिपक रायले बताए ।
के थियो पारिवारिक तनाव ?
तिन वर्ष अघि गौर नगरपालिका ६ की अन्जलि पंडित सँग वैवाहिक बन्धामा बाधिएका प्रजापति विगत एक वर्ष देखी श्रीमतिसँग मनमुटाव र घरायसि विवादका कारण तनावमा थिए । उनले हिजो रातिनै आत्महत्या गरेको खबर पाउँदा समेत उनकी श्रीमती अन्जलि पंडित वा ससुराली पक्षका कोही पनि उनको शव हेर्न समेत आएका छैनन ।
“श्रीमतीले दैनिक तनाव दिने, राति रेडियोको कार्यालय बन्द गरेर घर जाँदा किन घर आएको भनेर झपार्ने लगायतका काम गर्थिन ।” कटहरीया म्यूजिकल एफएमका म्यानेजर प्रकाश श्रेष्ठले भने “यो भन्दा अघि पनि उनकी श्रीमतिले प्रहरीको महिला सेलमा उजुरी दिएर महिला हिंसा भयो भन्दै कानूनी कारवाही गराउन खोजेकि थिइन पछि प्रहरी र समाजका व्यक्तिहरुले श्रीमान श्रीमती बिच समझदारी गराएका थिए ।” समझदारी गरेर श्रीमानको घर गए पनि १० दिन नबित्दै उनकी श्रीमती फेरि झगडा गरेर २ वर्षकी छोरी लिएर माइत आएकी थिइन ।
प्रजापतिको गौर ६ गढवामा ससुरालि रहेको छ । मृतक प्रजापतिको शव हिजो राति नै पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा ल्याए पछि उनी श्रीमानको शव हेर्न समेत नआएको पत्रकार प्रकाश श्रेष्ठले बताए । दोश्रो पटक पनि उनकी श्रीमतिले महिला सेलमा पुनः महिला हिंसाको निवेदन दिए पछि भोलि साउन ५ गते दुवै पक्षलाई प्रहरीले उपस्थीत हुन समय दिएको थियो ।
साउन ५ भन्दा २ दिन पहिले हिजो नै उनले आत्महत्या गरेका छन । मृतक प्रजापतिको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पत्रकार प्रजापतिलाई फेसबुक स्टाटसको कारणले एक महिना अघि कटहरीयाका मेयरले समेत गालिगलौज गरेका थिए ।






